अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् ।

ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध सबैभन्दा पहिले हवाई राज्यले संघीय अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यसपछि मिनेसोटा, ओरिगन र मासाचुसेट्टस राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका हुन् । ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागु हुनेछ । यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो ।
तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गर्नुभएको हो । पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ ।
वासिङटन राज्यले पनि ट्रम्पको ओदश विरुद्ध मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । वासिङटन राज्यले संघीय अदालतका न्यायाधीशसँग ट्रम्पको ओदश निलम्बित गर्न आग्रह गर्ने सिएनएनले उल्लेख गरेको छ । न्युयोर्क राज्यले पनि यस विरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको भनाई छ । ह्वाइट हाउस प्रशासन पछिल्लो कार्यकारी आदेश सम्बन्धी मुद्दामा आफ्नो पक्षमा फैसला हुनेमा ठुक्क रहेको छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने कुरा पनि उल्लेख छ ।








