काठमाडौं – मलेसियामा मंगलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले स्वागत गर्नुभयो । स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट र्याली सहित गौशाला–बत्तिसपुतली–मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका–नयाँ सडक–दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मंगलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगिएको थियो । विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मंगलबार नै गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बंगलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि विजेता बन्यो । ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा) ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन ।
बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो ।