काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि देशवासीका नाममा सम्बोधन नगर्ने भएका छन्। आगामी जेठ १५ गते आयोजना हुने विशेष समारोहमा आफ्नो तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिदिउन् भन्ने चाहना राख्दै प्रधानमन्त्री शाहले शीतल निवासमा औपचारिक पत्राचार गरेका छन्।
विगतमा गणतन्त्र दिवसमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने परम्परा रहे पनि बालेनले यसपटक त्यो जिम्मेवारी राष्ट्रपतिलाई दिएका हुन्। यसअघि पनि उनले नीति तथा कार्यक्रममाथि संसद्मा प्रत्यक्ष जवाफ नदिने शैली अपनाएका थिए। संसद्मा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए।
प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयमा विपक्षी दलले लगातार विरोध गर्दै आएका छन्। सभामुख डोलप्रसाद अर्यालले समेत प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन आग्रह गरेका थिए। प्रधानमन्त्री बनेयता बालेनले अहिलेसम्म देशवासीका नाममा औपचारिक सम्बोधन गरेका छैनन्।








