काठमाडौँ – रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भ्रम र विरोधाभासमा आधारित राजनीतिक शक्ति भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाको विचार र व्यवहारबीच मेल नदेखिएको बताए। बादलले रास्वपाको राजनीतिक धार स्पष्ट नभएको संकेत गर्दै त्यसलाई विरोधाभासपूर्ण राजनीति भएको आरोप लगाए।
‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’
रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति होरहेको उनले बताए । ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो ।’








