Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा पर्यटन क्षेत्रले पुनर्जीवन पाएसँगै यहाँको खाद्य सेवा उद्योगमा कामदारको चरम अभाव देखिएको छ । विदेशी कामदारमाथिको निर्भरता बढ्दै गएको अवस्थामा सरकारले तोकेको कामदारको सीमा पुरा भएपछि नयाँ आवेदनमा रोक लगाइएको छ, जसका कारण जापानी रेस्टुरेन्ट व्यवसायीहरू मारमा परेका छन् ।

जापान सरकारले सन् २०१९ मा श्रम शक्ति अभाव टार्न ‘निर्दिष्ट दक्ष कामदार’ प्रणाली सुरु गरेको थियो।  यस अन्तर्गत खाद्य सेवा क्षेत्रका लागि सन् २०२९ सम्म ५०,००० कामदार भित्र्याउने लक्ष्य राखिएको थियो । तर, पर्यटनमा आएको उछाल र आन्तरिक श्रम शक्तिको कमीका कारण यो लक्ष्य पाँच वर्ष अगावै अर्थात् सन् २०२४ को अप्रिलमै पुरा भएको छ ।

लक्ष्य पुरा भएसँगै जापानको अध्यागमन विभागले गत अप्रिल १३ देखि यस क्षेत्रका लागि नयाँ आवेदन लिन बन्द गरेको छ । यसले गर्दा नयाँ स्टोरहरू खोल्ने योजनामा रहेका ठूला रेस्टुरेन्ट चेनदेखि साना व्यवसायीसम्म अन्यौलमा परेका छन् ।

जापानभर झण्डै २०० वटा शाखाहरू रहेको एक प्रसिद्ध ‘रामेन चेन’ का अनुसार उनीहरूका कुल पूर्णकालीन कर्मचारीमध्ये २५ प्रतिशत विदेशी कामदार छन् । कम्पनीका व्यवस्थापक नाकागावा ताकाहिरो भन्छन्, ‘हाम्रो व्यवसाय विस्तारको योजना नै विदेशी कामदारमा आधारित थियो । अचानक आवेदन रोकिँदा हामीले आफ्नो व्यावसायिक रणनीतिमाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।’

भियतनामबाट आएकी हाङ जस्ता धेरै कामदारहरू यस क्षेत्रमा आकर्षित छन् । उनी भन्छिन्, ‘रेस्टुरेन्टमा काम गर्दा जापानी भाषा सिक्न र स्थानीयसँग घुलमिल हुन सजिलो हुन्छ, त्यसैले यो क्षेत्र विदेशीहरूका लागि लोकप्रिय छ ।’

जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानका निर्देशक कोरेकावा युका अनुसार सरकारले कामदारको मागको आँकलन गर्न गल्ती गरेको देखिन्छ । उनी भन्छन्, ‘सरकारले यसलाई एउटा कठोर सीमाका रूपमा भन्दा पनि एउटा लक्ष्यका रूपमा लिनुपर्छ र बजारको माग अनुसार लचिलो हुनुपर्छ ।’

कामदार अभाव टार्न कतिपय रेस्टुरेन्टहरूले प्रविधिको प्रयोग बढाएका छन् । खाना सर्भ गर्ने रोबोट, मोबाइल अर्डरिङ प्रणाली र सेल्फ चेकआउट मेसिनहरू प्रयोगमा ल्याइएका छन् । त्यस्तै, अवकाश पाइसकेका वृद्धवृद्धाहरूलाई पनि काममा फर्काउने प्रयास भइरहेको छ। तर, यी उपायहरू पूर्ण समाधान भने हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया