टोकियो – टोकियोको उइनो क्षेत्रका दुईवटा फरक रूप छन् । स्टेसनको एकातर्फ कला र संस्कृतिको केन्द्र मानिने उइनो पार्क र सङ्ग्रहालयहरू छन् भने अर्कोतर्फ ‘आमेयाको’ नामले परिचित जीवन्त बजार छ । सस्तो पसल र ‘इजाकाया’हरूले भरिएको यो बजारमा पछिल्लो समय सडक अतिक्रमण बढेपछि प्रहरीले कडा कारबाही सुरु गरेको छ ।
दोस्रो विश्वयुद्धपछि ‘कालो बजार’का रूपमा उदाएको आमेयको अहिले एक वैध र लोकप्रिय पर्यटकीय गन्तव्य हो । तर, यहाँका रेस्टुरेन्टहरूले सडक मिचेर कुर्सी र टेबल राख्ने क्रम बढेपछि मे ५ का दिन टोकियो महानगरीय प्रहरीले व्यापक छापा मारेको छ ।
स्थानीय बासिन्दा समूहका अध्यक्ष हिरोहिसा मिजुतानीका अनुसार, कोरोना महामारीका बेला ग्राहकहरूबीच सामाजिक दूरी कायम गर्न रेस्टुरेन्ट सञ्चालकहरूले सडकमा कुर्सी-टेबल निकाल्न सुरु गरेका थिए । महामारी अन्त्य भइसक्दा पनि व्यवसायीहरूले ती कुर्सी-टेबल हटाउनुको साटो झन् विस्तार गर्दै लगे । आमेयाकोका सडकहरू पहिले नै साँघुरा भएकाले यसले पैदल यात्रीहरूलाई बाधा पुर्याउनुका साथै आपत्कालीन अवस्थामा एम्बुलेन्स वा दमकल जान नसक्ने गम्भीर सुरक्षा चुनौती निम्त्याएको छ ।
सडक यातायात ऐनको उल्लंघन गर्दै आवागमनमा बाधा पुर्याएको भन्दै उइनो प्रहरी वृत्तका करिब २४ जना अधिकारीहरूले मंगलबार आमेयकोमा गस्ती गरेका थिए । उनीहरूले व्यवसायीहरूलाई सचेतनामूलक पर्चाहरू वितरण गर्दै सडकमा निकालिएका सामान हटाउन निर्देशन दिएका थिए । अधिकांशले प्रहरीको निर्देशन माने पनि एक इजाकाया सञ्चालकले अटेर गरेपछि प्रहरीले उनको पसल बाहिर राखिएका करिब ३० थान कुर्सी र टेबल जफत गरेको छ । यस क्रममा कसैलाई पक्राउ भने गरिएको छैन ।
प्रहरीको चेतावनीपछि बजारको स्वरूपमा केही परिवर्तन देखिएको छ । मुख्य सडकका रेस्टुरेन्टहरूले आफ्ना कुर्सी-टेबलहरू सडकबाट हटाएर भवनको ओत मुनि सारेका छन् । प्राविधिक रूपमा भवनको ओतमुनिको भाग व्यवसायकै सिमानाभित्र पर्ने भएकाले त्यसलाई सडक यातायात ऐनको उल्लंघन मानिँदैन । प्रहरीले सडक पूर्ण रूपमा खाली गराउनुभन्दा पनि आवागमनमा बाधा पुग्ने गरी गरिने अतिक्रमण रोक्न खोजेको देखिएको छ ।








