काठमाडौँ – काठमाडौंको नयाँ बसपार्क आसपासका होटलबाट नागार्जुनस्थित अपार्टमेन्टमा सारिएका सुकुम्बासी परिवारले आधारभूत सुविधा अभाव भएको गुनासो गरेका छन्। शुक्रबार साँझ ४० परिवारका ९३ जनालाई त्यहाँ लगिएको थियो।
उनीहरूका अनुसार आफूहरूलाई कसले र किन यहाँ ल्याएको भन्ने स्पष्ट जानकारीसमेत दिइएको छैन। खानेपानी र दैनिक आवश्यक सामग्रीको व्यवस्था नभएपछि केही समय उनीहरू आक्रोशित बनेका थिए। पछि खानेपानीको व्यवस्था गरिएको बताइएको छ।मनोहरा बस्तीबाट विस्थापित भएका विश्वनाथ दाहालले सरकारले केही प्रयास गरे पनि पर्याप्त नभएको बताए। उनका अनुसार बसोबासको अवधि, खानपान र दीर्घकालीन व्यवस्थापनबारे कुनै स्पष्ट जानकारी छैन।
अपार्टमेन्टमा रहेका धेरैजसो परिवारमा दीर्घरोगीसमेत छन्। दुवै मिर्गौला फेल भएकी मुना खनालले नियमित डायलासिसका लागि वीर अस्पताल जानुपर्ने भएकाले सहज यातायातको व्यवस्था गर्न माग गरेकी छन्। विस्थापित परिवारहरूले सरकारले आफूहरूलाई हटाएपछि उचित पुनःस्थापनाको जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्।








