काठमाडौँ – हर्क साम्पाङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। शुक्रबार जारी विज्ञप्तिमा उनले संसद् छल्दै अध्यादेश ल्याइनु र वरीयता मिचेर चौथो नम्बरका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइनु गलत कदम भएको बताएका हुन्।
साम्पाङका अनुसार सुशासनको नारा दिएर सत्तामा पुगेको सरकारले नै कानुनी प्रक्रिया उल्लङ्घन गरेको छ। उनले यस निर्णयमा राजनीतिक र कानुनी स्वार्थ जोडिएको आशंका व्यक्त गरेका छन्। उनले सहकारी ठगी प्रकरण तथा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दालाई प्रभावित पार्ने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने दाबी पनि गरेका छन्। साथै, एमसीसी र एसपीपीजस्ता विषय उठाएर बैठकमा दबाब सिर्जना गरिएको आरोप उनले लगाए।
साम्पाङले वरीयता मिचिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीकी उपसभामुख रुबीकुमारी ठाकुर प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। ‘हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।








