काठमाडौँ – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५ वर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैयाँ विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन् ।
मेयर हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधाको रकम वितरण गर्दै आएका छन्। उनले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताए। आर्थिक अभावका कारण सामान्य पोशाकसमेत जुटाउन नसक्ने विद्यार्थी देखेपछि आफूले यो अभियान सुरु गरेको उनको भनाइ छ।
हालसम्म उनले २३ लाखभन्दा बढी रकम सामाजिक काममा खर्च गरिसकेका छन् भने बाँकी रकम पनि चालु शैक्षिक सत्रभित्र खर्च गर्ने तयारी रहेको बताएका छन्। उनले मेयर निर्वाचनका बेला सरकारी सुविधा र सवारी नलिने प्रतिबद्धता व्यक्त गरेका थिए।








