टोकियो – जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा रहेका निजी विश्वविद्यालय तथा कलेजहरूमा भर्ना हुने विद्यार्थीहरूको खर्चले सन् २०२५ मा नयाँ रेकर्ड कायम गरेको छ । एक शिक्षक युनियनले गरेको सर्वेक्षणअनुसार, प्रवेश परीक्षादेखि भर्नासम्मको खर्च अत्यधिक बढ्दा मध्यमवर्गीय परिवार र विद्यार्थीहरूमाथि ठूलो आर्थिक बोझ थपिएको छ ।
‘टोकियो फेडरेशन अफ प्राइभेट युनिभर्सिटी फ्याकल्टी एण्ड स्टाफ युनियन’ ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, घरबाटै कलेज जाने विद्यार्थीको औसत कुल खर्च १६ लाख ४७ हजार ८८३ येन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३० हजार येनभन्दा बढी हो । त्यसैगरी, घरभन्दा टाढा होस्टल वा कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरूको खर्च झनै महँगो देखिएको छ । उनीहरूको औसत खर्च २३ लाख ५३ हजार ९८३ येन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४० हजार येनले बढी हो ।
सर्वेक्षणको सबैभन्दा डरलाग्दो पक्ष विद्यार्थीहरूको दैनिक खर्चमा देखिएको छ । घरबाहिर बस्ने विद्यार्थीलाई अभिभावकले पठाउने मासिक रकम (औसत ९१,६०० येन) बाट कोठा भाडा कटाएपछि दैनिक खर्चका लागि केवल ६६० येन मात्र बाँकी रहन्छ । यो रकम सन् १९९० को दशकको तुलनामा झण्डै एक-चौथाइ मात्र हो । महँगो टोकियो सहरमा दैनिक ६६० येनले खाना र अन्य आधारभूत आवश्यकता पूरा गर्नु असम्भव जस्तै रहेको विज्ञहरू बताउँछन् ।
सर्वेक्षणका अनुसार दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा ४.८ प्रतिशत र कोठा भाडामा ४.२ प्रतिशतले वृद्धि भएको छ । औसत कोठा भाडा मात्रै ७१,८०० येन पुगेको छ। यसका साथै प्रवेश परीक्षा शुल्क र पहिलो वर्षको ट्युसन फी पनि उच्च रहेको छ ।
टोकियो केइजाई विश्वविद्यालयका प्रोफेसर तथा युनियनका अध्यक्ष हारुमिची यामादाले यस स्थितिलाई ‘अत्यन्तै गम्भीर’ भनेका छन् । उनले भने, ‘दैनिक ६६० येनमा जीवनयापन गर्नु असम्भव छ । यसले गर्दा विद्यार्थीहरू पार्ट-टाइम काम (आरुबाइतो) मा बढी समय दिन बाध्य छन्, जसले उनीहरूको पढाइमा गम्भीर असर पुर्याइरहेको छ ।’
सर्वेक्षणमा सहभागी कतिपय अभिभावकहरूले खर्च धान्न नसकेका कारण आफ्ना साना छोराछोरीलाई उच्च शिक्षाका लागि पठाउन नसक्ने चिन्ता व्यक्त गरेका छन् । धेरै विद्यार्थीहरूले आफूले चाहेको कलेज छाडेर सस्तो शुल्क भएका कलेज रोज्नुपर्ने बाध्यता रहेको बताएका छन् । अभिभावकहरूले मध्यम वर्गका परिवारलाई लक्षित गरी सरकारले थप वित्तीय सहयोग र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।








