काठमाडौँ – इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध तत्काल रेड नोटिस जारी गर्न नमिल्ने जवाफ दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका देउवा दम्पतीविरुद्ध पर्याप्त आधार नदेखिएको भन्दै इन्टरपोलले थप प्रमाण मागेको हो। अनुसन्धान भइरहेको कसुर, त्यसको अवस्था र सम्बन्धित प्रमाणबारे प्रश्न उठाउँदै रेड नोटिसका लागि आवश्यक मापदण्ड पूरा नभएको जनाएको स्रोतले बताएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौं ले २०८२ चैत २४ गते देउवा दम्पति बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि प्रहरीमार्फत इन्टरपोललाई रेड नोटिसको प्रक्रिया अघि बढाइएको थियो।
हाल देउवा दम्पती हङकङमा रहेको चर्चा भए पनि यसबारे सरकार वा परिवारले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। प्रहरी स्रोतका अनुसार इन्टरपोलबाट पठाइएको पत्र रेड नोटिस स्वीकृत नभई फिर्ता आएको हो।








