त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिँदै गर्दा धेरैको मानसपटलमा एउटा ‘स्वप्निल’ जापानको तस्बिर हुन्छ । चिल्ला सडक, गगनचुम्बी भवन, अत्याधुनिक प्रविधि र हातभरि आउने जापानी येनको बिटो- यी र यस्तै रङ्गीन सपनाका पोकाहरू बोकेर हरेक वर्ष काम र अध्ययनका लागि हजारौँ नेपाली युवा सूर्योदयको देशतिर उड्छन् । म पनि त्यही भीडको एउटा पात्र बनेर जापान आएको एक महिना बित्दै गर्दा माउन्ट फुजीको काखमा रहेको सुन्दर यामानासी केनको कावागुचिकोमा बसेर यी हरफहरू कोर्दै छु ।
एक महिनाको भोगाइले मलाई एउटा सत्य बोध गराएको छ- हामीले नेपालबाट देखेको जापान र यहाँ बाँच्नुपर्ने जापानको बीचमा एउटा ठूलो ‘सांस्कृतिक र मनोवैज्ञानिक खाडल’ रहेछ । नेपालमा रहँदा कन्सल्टेन्सीका भित्तामा टाँसिएका पोस्टर, युट्युबका ‘ब्लग’ र टिकटकका ‘फिल्टर्ड’ भिडियोहरूले जापानलाई एउटा यस्तो स्वर्गको रूपमा चित्रण गर्छन्, जहाँ पुग्नेबित्तिकै मानिसको आर्थिक हैसियत रातारात बदलिन्छ । यो ‘सपनाको बजारीकरण’ यति शक्तिशाली छ कि हामीले यहाँको संघर्ष, एक्लोपन र कठोर परिश्रमलाई कहिल्यै देख्नै सकेनौँ । हामीले सोचेको जापान केवल ‘उपभोग’को केन्द्र थियो, तर भोगिरहेको जापान ‘उत्पादन’ र ‘अनुशासन’को एउटा कठिन चक्रव्यूह हो । यहाँ प्रविधिले जीवन सजिलो त बनाएको छ, तर त्यही प्रविधिको गतिसँग तालमेल मिलाउन मानिस स्वयं रोबोटजस्तै बन्नुपर्ने बाध्यता छ ।
म अहिले बसिरहेको यामानासी प्रान्त प्राकृतिक रूपमा निकै सौम्य छ । टोकियोको कोलाहलभन्दा टाढा, शान्त र कृषि तथा उद्योगका लागि चिनिने यो ठाउँ धेरैलाई ‘रिटायरमेन्ट लाइफ’ (अवकाशपछिको जीवन)का लागि उपयुक्त लाग्न सक्छ । तर, एउटा ऊर्जाशील नेपाली युवाका लागि यहाँको ‘सन्नाटा’ सुरुका दिनमा बिझाउने खालको हुँदो रहेछ । नेपालको गाउँघरमा हुने चियापसलका गफ, छिमेकीको आँगनमा हुने आउजाउ र चाडपर्वको उल्लासमा हुर्किएको हाम्रो मनोविज्ञानलाई जापानको ‘नितान्त व्यक्तिगत’ जीवनशैलीले ठूलो धक्का दिन्छ । यहाँ छिमेकी त हुन्छन्, तर ती केवल भित्ताका अर्कोतिरका अदृश्य पात्र मात्र हुन् । यो सामाजिक रिक्तता वा एकाकीपन नै जापान पुगेका नेपालीहरूले भोग्ने सबैभन्दा ठूलो मानसिक चुनौती हो ।
नेपालमा एन-फोर वा एन-फाइभ पास गर्दैमा जापान बुझिन्छ भन्ने सोच्नु ठूलो भ्रम रहेछ । यहाँ आएपछि थाहा भयो, भाषा केवल अक्षरको ज्ञान मात्र होइन, यो त यहाँको समाजमा सम्मानजनक अस्तित्व कायम गर्ने साँचो रहेछ । भाषाको अभावमा तपाईं कति शिक्षित हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ रहँदैन; तपाईं केवल एउटा ‘सस्तो श्रमिक’मा सीमित हुनुहुन्छ । सुपरमार्केटमा सामान किन्दा होस् वा काम गर्ने ठाउँमा ‘स्याचो’ (हाकिम) को निर्देशन बुझ्दा, भाषा नआउँदा हुने निरीहता र हीनताबोधले मानिसलाई भित्रभित्रै कमजोर बनाउँछ ।
नेपालमा रहँदा हामी जापानी येनलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेर ‘लाखौँ’ को सपना देख्छौँ । तर, जापानको महँगी र कर प्रणालीको विश्लेषण कहिल्यै गर्दैनौँ । कोठाभाडा, पानी, बिजुली, ग्यास, स्वास्थ्य बीमा, पेन्सन र दैनिक खाद्यान्नमा हुने खर्च कटाएपछि जोगिने रकम हेर्दा थाहा हुन्छ- यहाँ पैसा कमाउनु भनेको समुद्रबाट थोपा-थोपा पानी जम्मा गर्नुजस्तै हो । ‘ओभरटाइम’ को आशमा आफ्नो निद्रा र स्वास्थ्य बेचेर कमाएको पैसाले नेपालको ऋण तिर्न र घरखर्च चलाउन त पुग्ला, तर आफ्नो व्यक्तिगत जीवनको ‘क्वालिटी भने शून्यप्रायः हुन्छ ।
यति भन्दै गर्दा जापानीहरूको समयप्रतिको निष्ठा भने विश्वमै उदाहरणीय छ । नेपालको ‘भोलिवाद’ र ढिलासुस्तीमा हुर्किएका हामीलाई यहाँको एक मिनेटको महत्त्वले सुरुमा सास्ती दिन्छ । काममा एक मिनेट ढिलो हुनु भनेको केवल समय बर्बाद गर्नु मात्र होइन, आफ्नो विश्वसनीयता गुमाउनु पनि हो । ‘गाम्बात्ते’ (मेहनत गर) र ‘ओचुकारेसामा’ (कामका लागि धन्यवाद) जस्ता शब्दहरूले जापानी कार्यसंस्कृतिको मेरुदण्ड थामेका छन् । यहाँको प्रणालीले मानिसलाई यति अनुशासित बनाउँछ कि उसले आफ्नै बारेमा सोच्ने समयसमेत पाउँदैन ।
जापान न त कुनै तिलस्मी स्वर्ग हो, न त कुनै भयानक नर्क । यो त केवल एउटा यस्तो कर्मभूमि हो, जसले परिश्रम गर्नेलाई प्रतिफल त दिन्छ तर त्यसको बदलामा मानिसको जवानी र भावनाको ठूलो हिस्सा असुल गर्छ । मेरो एक महिनाको अनुभवले भन्छ- जापान आउनुअघि केवल पैसाको अंक मात्र होइन, यहाँको संघर्षको आयतन पनि नापेर मात्र आउनु जरुरी छ । देखेको जापान ‘ग्ल्यामर’ थियो, तर भोगेको जापान ‘गम्भीर’ छ । यी शान्त सडकहरूमा हिँड्दै गर्दा मलाई महसुस हुन्छ- नेपालले हामीलाई भावना र सम्बन्ध दियो, तर अवसर दिएन; जापानले अवसर र प्रविधि दियो, तर हाम्रो मौलिकता र सामाजिक सामीप्यता खोसिदियो… !








