टाकियो – जापानको चिबा प्रान्तस्थित एउटा यस्तो सरकारी उच्च माध्यमिक विद्यालय, जो विगत केही वर्षदेखि विद्यार्थी अभावको संकट झेलिरहेको थियो, यस वर्ष एक अप्रत्याशित र गौरवमय सफलताका कारण चर्चामा आएको छ ।
बोसो प्रायद्वीपको अन्तिम छेउमा रहेको तातेयामा सहरस्थित ‘चिबा प्रिफेक्चरल आवा हाई स्कुल’ का दुई विद्यार्थीले यसै वसन्त ऋतुमा जापानका दुई सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय-टोकियो विश्वविद्यालय र क्योटो विश्वविद्यालयमा प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । सन् १९९२ पछि, अर्थात् ३३ वर्षमा पहिलोपटक यो विद्यालयका विद्यार्थीले एकै वर्ष यी दुवै शीर्ष विश्वविद्यालयमा नाम निकाल्न सफल भएका हुन् ।
प्रख्यात जापानी रक ब्यान्ड ‘एक्स जापान’का सदस्य योशिकी पढेको यो विद्यालयले यस वर्ष आफ्नो स्थापनाको १२६औँ वार्षिकोत्सव मनाउँदै छ । लामो इतिहास बोकेको भए तापनि पछिल्ला वर्षहरूमा जनसंख्याको कमी र निजी विद्यालयहरूमा निःशुल्क ट्युसन कार्यक्रमको प्रभावका कारण यस विद्यालयले आफ्नो भर्ना कोटा समेत पूरा गर्न सकिरहेको थिएन ।
सन् २००० सम्म यो विद्यालयबाट प्रायः हरेक वर्ष कम्तीमा एकजना विद्यार्थीले टोकियो विश्वविद्यालयमा नाम निकाल्ने गरेका थिए । तर, सन् २००७ पछि त्यो क्रम पूर्ण रूपमा रोकिएको थियो ।
विद्यालयको खस्कँदो साखलाई जोगाउन आवा हाई स्कुलले सन् २०२३ देखि ‘रेनेसाँ प्रोजेक्ट’ (पुनर्जागरण परियोजना) सुरु गरेको थियो । यसअन्तर्गत राष्ट्रिय विश्वविद्यालयहरूलाई लक्षित गरी मेधावी विद्यार्थीहरूका लागि विशेष ‘एडभान्स्ड क्लास’ सुरु गरिएको थियो ।
यसै वर्ष, सोही विशेष कक्षाका १८ वर्षीय ह्युगा सिमाबुकुले टोकियो विश्वविद्यालयको विज्ञान संकाय (डिभिजन २) मा र १८ वर्षीय हायातो ताकिगुचीले क्योटो विश्वविद्यालयको कृषि संकायमा प्रवेश पाएका छन् । विद्यालयका लागि १८ वर्षपछि टोकियो र १३ वर्षपछि क्योटो विश्वविद्यालयमा यो पहिलो सफलता हो । समग्रमा, राष्ट्रिय र सार्वजनिक विश्वविद्यालयहरूमा नाम निकाल्ने विद्यार्थीको संख्या पनि विगत सात वर्षमा पहिलोपटक ३० नाघेको छ ।
सो क्षेत्रमा ठूला कुनै पनि कोचिङ सेन्टर वा तयारी कक्षाहरू छैनन् । टोकियो विश्वविद्यालयमा नाम निकालेका सिमाबुकुले कुनै पनि अतिरिक्त तयारी कक्षा विना नै विद्यालयकै पढाइको भरमा यो सफलता हासिल गरेका हुन् । विद्यालयका प्रधानाध्यापक ताकाहिदे हायाकावा भन्छन्, ‘क्षेत्रीय सार्वजनिक विद्यालयहरू अहिले कठिन परिस्थितिमा छन् । तर, आफ्नो समुदायमै बसेर कडा मिहिनेत गर्ने हो भने बालबालिकाले उत्कृष्ट नतिजा ल्याउन सक्छन् भन्ने यो प्रमाण हो । हामी स्थानीय बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउन निरन्तर लागिरहनेछौँ ।’








