टोकियो – जापानको सबैभन्दा ठूलो बिदाको मौसम ‘गोल्डेन विक’ अन्तर्गत शनिबारदेखि पाँच दिने लामो सार्वजनिक बिदाको शृङ्खला सुरु भएको छ । बिदा मनाउन आफ्नो थातथलो फर्कने र आन्तरिक तथा वैदेशिक भ्रमणमा निस्कने मानिसहरूको अत्यधिक चापका कारण देशभरका रेल स्टेसन, विमानस्थल र सडकहरूमा निकै घुइँचो देखिएको छ ।
अप्रिलको अन्त्यबाट सुरु भएको यो होलिडे सिजनमा शनिबारदेखि लगातार चारवटा राष्ट्रिय बिदाहरू परेका छन् । नयाँ वर्ष र गृष्मकालीन ‘ओबोन’ पछि जापानमा सबैभन्दा बढी भ्रमण गरिने समय नै यही हो । टोकियो रेल स्टेसनमा बिहानैदेखि यात्रुहरूको भीड लागेको छ। छिबा प्रान्तबाट क्योटो र नारातर्फ जान लागेका एक परिवारका सदस्यहरू निकै उत्साहित देखिन्थे । ४ वर्षीया नानामी सोतो जाकीले भनिन्, ‘मलाई नारा पुगेर त्यहाँका मृगहरूलाई ‘क्र्याकर’ खुवाउनु छ ।’
ओसाकास्थित सिन-ओसाका स्टेसनमा पनि उस्तै भीडभाड देखिएको छ । स्टेसनका कर्मचारीहरू यात्रुलाई मार्गनिर्देशन गर्न व्यस्त छन् भने पसलहरूमा कोसेली किन्नेहरूको लामो लाइन लागेको छ । २८ वर्षीया होनोका हामासाकीले यामानासी प्रान्ततर्फ लाग्दै भनिन्, ‘म आफ्नो प्रेमीसँग टेलिभिजन नाटकहरूको छायाङ्कन भएका चर्चित ठाउँहरू घुम्न जान निकै उत्साहित छु ।’
बिदाको उमङ्गका बीच प्रतिकूल मौसमले केही स्थानमा यात्रा प्रभावित पारेको छ । जेआर इस्टका अनुसार तीव्र हावा र रेलको लिकमा रुख ढलेका कारण ‘यामागाता सिन्कानसेन’ अन्तर्गत टोकियो र सिनजो स्टेसनबीचको रेल सेवामा अवरोध पुगेको छ । यसले गर्दा सो मार्ग भएर यात्रा गर्ने यात्रुहरूले केही सास्ती बेहोर्नु परेको छ ।








