टोकियो – जापानले हतियार निर्यातसम्बन्धी दशकौँ पुरानो कडा नियमहरूलाई खुकुलो बनाएपछि युक्रेनले यसलाई सैन्य सहयोग प्राप्त गर्ने नयाँ मार्गका रूपमा हेरेको छ । जापानका लागि युक्रेनी राजदूत युरी लुतोभिनोभले रोयटर्ससँगको अन्तर्वार्तामा जापानको यो निर्णयले भविष्यमा युक्रेनलाई सैन्य उपकरण आपूर्ति गर्ने विषयमा वार्ताको बाटो खोलेको बताएका हुन् । राजदूत लुतोभिनोभले भने, ‘यसले हामीलाई कुराकानी गर्ने अवसर दिएको छ। सैद्धान्तिक रूपमा, यो निकै ठूलो कदम हो ।’
प्रधानमन्त्री सानाए ताकाइचीले गत हप्ता हतियार निर्यात नियमहरू परिमार्जन गर्ने निर्णय गरेकी थिइन्, जसलाई जापानको दोस्रो विश्वयुद्धपछिको ‘कठोर शान्तिवादी नीति’बाट ठूलो प्रस्थानका रूपमा हेरिएको छ । युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण पश्चिमी देशहरूको हतियार उत्पादन क्षमतामा दबाब परिरहेका बेला जापानको यो कदमले विश्वव्यापी चासो जगाएको छ ।
नयाँ नियमले द्वन्द्वग्रस्त क्षेत्रमा सिधै हतियार पठाउन अझै पनि कतिपय बन्देजहरू कायम राखेको छ । तर, जापानको सुरक्षा स्वार्थसँग जोडिएका विशेष अवस्थाहरूमा भने हतियार निर्यात गर्न सकिने ‘अपवाद’को व्यवस्था गरिएको छ । युक्रेनले यसै प्रावधानबाट लाभ उठाउने आशा राखेको छ ।
जापानले युक्रेनको सुरक्षालाई आफ्नै सुरक्षासँग जोडेर हेर्दै आएको छ । चीनको बढ्दो सैन्य शक्ति र ताइवानसँगको तनावका कारण जापान चिन्तित छ । तत्कालीन प्रधानमन्त्री फुमियो किसिदाले ‘आजको युक्रेन भोलिको पूर्वी एसिया हुन सक्छ’ भनी चेतावनी दिएका थिए। प्रधानमन्त्री ताकाइचीले अक्टोबरमा पदभार सम्हालेदेखि जापानको सैन्य सुदृढीकरण योजनालाई थप तीव्रता दिएकी छिन् । राजदूत लुतोभिनोभले भने, ‘यदि युक्रेनको पतन भयो भने त्यसले ‘डोमिनो इफेक्ट’ सिर्जना गर्नेछ। त्यसैले हाम्रो सुरक्षाको दृष्टिकोणबाट इन्डो-प्यासिफिक र युरोपेली महाद्वीप अविभाज्य छन् ।’








