Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापान सरकारले घरको काममा सहयोग गर्ने सहयोगी र बच्चा हेर्ने सहयोगी सेवाको प्रयोगलाई प्रोत्साहन गर्न नयाँ ‘कर सहुलियत’ योजना ल्याउने तयारी गरेको छ । श्रीमान र श्रीमती दुवै रोजगारीमा रहेका ‘कामकाजी दम्पती’हरूको आर्थिक भार कम गर्ने र घर तथा कार्यालयको कामबीच सन्तुलन मिलाउन सहयोग गर्ने उद्देश्यले सरकारले यो नीतिगत व्यवस्था गर्न लागेको हो ।

सरकार र सत्तारुढ दलले यस वर्षको अन्त्यसम्ममा तयार पार्ने ‘कर सुधार खाका’मा यस सम्बन्धी ठोस व्यवस्था समावेश गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा उप-मुख्य मन्त्रिपरिषद् सचिव केई सातोले ‘योमिउरी शिम्बुन’लाई दिएको अन्तर्वार्तामा यस योजनाबारे जानकारी दिएका हुन् । सातोले स्पष्ट रूपमा भने, ‘बेबीसिटर र घरधन्दामा सहयोग गर्ने सेवाहरूको प्रयोगलाई बढावा दिन हामी करको भार कम गर्नेछौँ ।’

प्रस्तावित योजना अन्तर्गत, यी सेवाहरू बापत तिरेको रकमको निश्चित हिस्सालाई वार्षिक करबाट घटाउन पाउने व्यवस्था गरिने सम्भावना छ । यसका साथै, सेवाको माग बढेसँगै हुनसक्ने जनशक्तिको अभावलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा पनि वर्षको अन्त्यसम्ममा अध्ययन गरिने उनले बताए ।

हाल जापानमा कामकाजी दम्पतीहरूमा घरको काम र छोराछोरीको हेरचाहको ठूलो भार महिलामा नै केन्द्रित हुने गरेको छ, जसका कारण धेरै महिलाले जागिर छाड्नुपर्ने अवस्था छ । सरकारले सन् २०२७ सम्ममा ‘घरायसी सहयोगी’का लागि राष्ट्रिय योग्यता/प्रमाणपत्रको व्यवस्था गर्ने तयारी पनि गरेको छ । सरकारीस्तरबाटै यी सेवाहरूलाई व्यवस्थित बनाउँदा महिलाहरूलाई कार्यस्थलमा फर्कन सहज हुने विश्वास लिइएको छ ।

सचिव सातोले कम्पनीहरू आफैँले कर्मचारीका बालबालिकाका लागि सञ्चालन गर्ने ‘कर्पोरेट डे-केयर’लाई पनि सहयोग गर्ने योजना सुनाए । विशेषगरी प्राथमिक विद्यालयमा प्रवेश गरेका बालबालिकालाई गर्मी बिदा वा अन्य समयमा कहाँ राख्ने भन्ने समस्या समाधान गर्न सरकारले मागको सर्वेक्षण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया