टोकियो – जापान र चीनबीचको बिग्रँदो कूटनीतिक सम्बन्धका कारण दुई देशबीचको पर्यटन व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ‘ताइवान संकट’ का सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिका कारण जापानी पर्यटकहरूको चीन भ्रमणमा उल्लेख्य गिरावट आएको हो ।
पर्यटन उद्योगका अधिकारीहरूका अनुसार, कूटनीतिक तिक्तता सुरु भएयता चीन जाने जापानी पर्यटकको सङ्ख्यामा ९० प्रतिशतले कमी आएको छ । उडान सङ्ख्यामा कटौती र बुकिङ रद्द हुने क्रम तीव्र बनेपछि यो क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार यो क्षेत्रले अहिले ‘तेहेरो मार’ खेपिरहेको छ । पहिलो- कूटनीतिक तनावका कारण चीन भ्रमणप्रति जापानीहरूको घट्दो रुचि, दोस्रो- उडान कटौतीका कारण सिटको अभाव, र तेस्रो- मध्यपूर्वको द्वन्द्वले गर्दा बढेको इन्धन शुल्क ।
साङ्घाईस्थित एक एजेन्सीका अधिकारीले बताए अनुसार नोभेम्बर यता जापानी समूहगत भ्रमण आधाले घटेका छन् । धेरै पर्यटकहरूले सुरक्षाको चिन्ता देखाउँदै भ्रमण रद्द गरेका हुन् भने कतिपय अवस्थामा एयरलाइन्सले अचानक उडान रद्द गरिदिँदा भ्रमणहरू प्रभावित भएका छन् ।
प्रधानमन्त्री ताकाइचीले संसदमा ताइवानमाथि आक्रमण भएमा जापानले अमेरिकालाई सैन्य सहयोग गर्न सक्ने संकेत गरेकी थिइन् । चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्दै आएकाले ताकाइचीको सो भनाइपछि बेइजिङ रुष्ट बनेको थियो । प्रतिक्रियास्वरूप चीनले जापानमाथि व्यापारिक प्रतिबन्धहरू लगाउनुका साथै आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गरेको थियो। यसको बदलामा जापानी एयरलाइन्सहरूले पनि चीनका लागि उडानहरू कटौती गरेका छन् ।
यो संकटको प्रत्यक्ष असर पर्यटन मजदुरहरूमा देखिएको छ। युनेस्को विश्व सम्पदा सूचीमा रहेको ‘टेराकोटा आर्मी’का लागि प्रसिद्ध साङ्सी प्रान्तमा जापानबाट हुने सबै सीधा उडान रद्द भएका छन् । ‘मैले यो वर्ष एकजना पनि जापानी पर्यटकलाई घुमाउन पाएको छैन,’ करिब ३० वर्षदेखि जापानी भाषाको गाइडका रूपमा काम गरिरहेका ५७ वर्षीय एक चिनियाँ नागरिकले दुखेसो पोखे । उनका अनुसार अप्रिलका लागि तय भएको जापानी उच्च माध्यमिक विद्यालयको शैक्षिक भ्रमण समेत रद्द भएको छ । बेइजिङका गाइडहरूले पनि आफ्नो आम्दानी ९० प्रतिशतले घटेको बताएका छन् ।
विज्ञहरूका अनुसार जापानी भाषा बोल्ने दक्ष गाइडहरूले पेशा छाड्ने क्रम बढेको छ । यदि निकट भविष्यमा पर्यटन लयमा फर्किएन भने नयाँ गाइडहरूलाई तालिम दिने र गुणस्तरीय सेवा प्रदान गर्ने जनशक्ति नै अभाव हुने खतरा छ ।








