काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउने कार्यक्रम रहेको छ। मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी सम्हालेका गोर राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी मानिन्छन् र भारतका लागि राजदूत समेत हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गोरले नेपाल बसाइका क्रममा दुई मन्त्रीसँग भेट गर्नेछन्। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनको भ्रमणमा सगरमाथा आधार शिविर जाने योजना पनि समावेश गरिएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट हुने विषय भने अहिलेसम्म निश्चित भइसकेको छैन।
यसअघि पनि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री नेपाल भ्रमणमा आएका थिए र सरकारी नेतृत्वसँग भेटघाट गरेका थिए।








