टोकियो – जापानी प्रधानमन्त्री सानाए ताकाइचीले मुलुकमा बढ्दो महँगीलाई मध्यनजर गर्दै श्रमिकहरूको निरन्तर र दिगो तलब वृद्धिका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । बुधबार टोकियोको सिबुयामा आयोजित ‘मे दिवस’ (मई दिवस) को विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
समारोहमा बोल्दै ६५ वर्षीया प्रधानमन्त्रीले भनिन्, ‘हामी निजी कम्पनीहरूलाई आफ्ना कर्मचारीको तलब बढाउन सक्ने वातावरण र सर्तहरू निर्माण गरिदिन सरकारको अधिकार क्षेत्रभित्र रहेका सबै विकल्पहरू प्रयोग गर्नेछौँ । मूल्यवृद्धि (मुद्रास्फीति) भन्दा बढी दरमा तलब वृद्धि हुने सुनिश्चितताका लागि म तपाईंहरू सबैको साथ र समर्थनको अपेक्षा गर्दछु ।’
यस वर्षको वसन्तकालीन कार्यतालिका अनुसार, जापानका प्रमुख ट्रेड युनियनहरूको साझा संस्था ‘रेङ्गो’अन्तर्गतका श्रमिकहरूले व्यवस्थापन पक्षसँगको वार्तामा औसत ५ प्रतिशतको तलब वृद्धि हासिल गरिसकेका छन् ।
यद्यपि, रेङ्गोकी प्रमुख तोमोको योशिनोले अहिलेको वृद्धिलाई ‘सुरुआत’ मात्रै मान्नुपर्ने बताइन् । उनले भनिन्, ‘वास्तविक तलब वृद्धि सकारात्मक लयमा रहिरहनका लागि यो गतिलाई अझ तीव्र बनाउन आवश्यक छ ।’ ६७ लाख ८० हजारभन्दा बढी सदस्य रहेको रेङ्गो जापानको सबैभन्दा ठूलो श्रमिक सङ्गठन हो ।
योशिनोले मध्यपूर्वमा जारी तनावका कारण सिर्जना भएको ऊर्जा संकटले श्रमिक र व्यवस्थापनबीचको वार्तामा नयाँ चुनौती थपिएको समेत उल्लेख गरिन् । प्रधानमन्त्री ताकाइचीको यो प्रतिबद्धता यस्तो समयमा आएको छ, जतिबेला कच्चा तेलको बढ्दो मूल्य र ऊर्जा आपूर्तिको अनिश्चितताले जापानको अर्थतन्त्रलाई छायामा पारेको छ । साथै, डलरको तुलनामा जापानी ‘येन’ को लगातारको अवमूल्यनले आयातित वस्तुहरूको मूल्य बढाउँदा सर्वसाधारणमा महँगीको चिन्ता चुलिएको छ ।
राजनीतिक रूपमा ताकाइचीको सत्तारुढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ र श्रमिक सङ्गठन ‘रेङ्गो’ बीच कतिपय सामाजिक मुद्दामा मतभेद कायमै छ । विवाहित दम्पतीले फरक-फरक थर राख्न पाउने कि नपाउने भन्ने जस्ता विषयमा दुई पक्षबीच दूरी देखिँदै आएको छ । यद्यपि, सन् २०२६ को कार्ययोजनामा ताकाइची सरकारले आफ्नो समर्थनको आधार विस्तार गर्न रेङ्गो जस्ता ‘मैत्रीपूर्ण’ युनियनहरूसँग संवादलाई निरन्तरता दिने रणनीति लिएको छ ।








