Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको सत्ता राजनीतिमा प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो पकड झन् बलियो बनाउँदै लगेकी छिन् । गत फेब्रुअरीमा भएको प्रतिनिधि सभाको निर्वाचनमा ठूलो विजय हासिल गरेसँगै सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीभित्र ताकाइचीको ‘एकलौटी शक्ति’ स्थापित भएको हो ।

तर, उनको यो बढ्दो शक्तिसँगै पार्टीभित्रका अनुभवी नेताहरूमा भने एक प्रकारको भय र दबाब सिर्जना हुन थालेको छ । गत बिहीबार राति टोकियोको हिराकावाचोस्थित एक होटलमा आयोजित नव निर्वाचित सांसदहरूको दिवाभोजमा प्रधानमन्त्री ताकाइचीले अनपेक्षित रूपमा उपस्थिति जनाएर सबैलाई अचम्ममा पारिन् । फेब्रुअरीको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका ५९ सांसदहरूलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंहरूले कुनै न कुनै एउटा क्षेत्रमा आफ्नो विशेष दख्खल बनाउनुहोस् ।’

सो अवसरमा उनले नयाँ सांसदहरूसँग तस्बिर खिचाउँदै उनीहरूको उत्साह बढाएकी थिइन् । पार्टीका उप-अध्यक्ष तारो आसोले पछिल्लो समय पार्टीको माहोल एक वर्षअघिको तुलनामा निकै उज्यालो र सकारात्मक भएको बताउँदै आएका छन् । प्रधानमन्त्री नियुक्त भएको ६ महिना बितिसक्दा पनि ताकाइची मन्त्रिपरिषद्को लोकप्रियता उच्च रहनुलाई उनको सफलताको रूपमा हेरिएको छ ।

बाहिरबाट हेर्दा हँसिलो र मिलनसार देखिने ताकाइची आफ्ना सहकर्मीहरूको कामको मूल्यांकनमा भने निकै निर्मम र कठोर मानिन्छिन् । उनले पार्टी र सरकार सञ्चालनमा आफ्नो नीतिसँग मेल नखाने जोकोहीलाई पनि पदमुक्त गर्न वा किनारा लगाउन हिचकिचाउने गरेकी छैनन् ।

हालैका केही घटनाक्रमले पार्टीभित्रका अनुभवी नेताहरूमा त्रास पैदा गरेको छ । प्रधानमन्त्री ताकाइचीले आर्थिक वर्ष २०२६ को बजेट समयमै पारित गराउन नसकेको भन्दै माथिल्लो सदनका नेताहरूप्रति तीव्र असन्तुष्टि पोखेकी थिइन् । उनले तल्लो तहका नेताहरूलाई बदल्नका लागि पार्टीको नियमावली नै संशोधन गर्ने प्रयास समेत गरेकी थिइन् । ‘मलाई काम हुन्छ भनेर झुक्याइयो,’ भन्दै उनले निकटस्थहरूसँग असन्तुष्टि व्यक्त गर्ने गरेकी छिन् ।

पछिल्लो समय ताकाइचीले धेरै अनुभवी नेताहरूलाई उनीहरूको जिम्मेवारीबाट हटाएकी छिन् । चुनावी प्रणाली समितिका संयोजक रहेका ७१ वर्षीय इचिरो आइसावालाई पदबाट हटाएर युवा नेता सुजुकी केइसुकेलाई जिम्मेवारी दिइएको छ । आइसावाले सांसद संख्या कटौतीको विषयमा प्रधानमन्त्रीको सोचभन्दा फरक मत राख्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

त्यसैगरी, विपक्षी दलहरूप्रति लचिलो भएको र संसदीय परम्परालाई मात्र जोड दिएको भन्दै सदन सञ्चालन समितिका अध्यक्ष यासुकाजु हामादालाई पनि निर्वाचन लगत्तै पदमुक्त गरियो । लामो समय कुनै गुटमा नलागेकी ताकाइचीलाई अहिले पूर्व प्रधानमन्त्री तारो आसो, महासचिव सुजुकी र हागिउदा जस्ता प्रभावशाली नेताहरूको समर्थन रहेको छ। यद्यपि, ताकाइचीको ‘कठोर कार्यशैली’ ले अनुभवी नेताहरूमा ‘यदि प्रधानमन्त्रीको इच्छा अनुसार चल्न सकिएन भने जतिसुकै वरिष्ठ भए पनि कारबाहीमा परिनेछ’ भन्ने सन्देश गएको छ ।

राजनीतिक विश्लेषकहरू ताकाइचीको यो शैलीलाई ‘ड्राई’ नेतृत्वको संज्ञा दिन्छन्, जहाँ व्यक्तिगत सम्बन्धभन्दा कामको नतिजा र वफादारीलाई सर्वोपरी मानिन्छ । गोल्डेन विकको बिदा नजिकिँदै गर्दा जापानको राजनीतिमा ताकाइचीको यो ‘आइरन लेडी’ छविले पार्टी भित्र र बाहिर दुवैतिर नयाँ बहस छेडिदिएको छ ।

तपाईको प्रतिक्रिया