काठमाडौँ – अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण इरानको अर्थतन्त्रमा गम्भीर असर परेको छ । यसका कारण लाखौँ मानिसले रोजगारी गुमाएका छन् भने देशभर यसको प्रभाव देखिन थालेको छ । राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा काम गर्ने तेल रिफाइनरीका मजदुर, कपडा उद्योगका कर्मचारी, ट्रक चालक, विमान परिचारिका र पत्रकारसमेत बेरोजगार बनेका छन् । युद्ध सुरु हुनु अघि नै कमजोर अवस्थामा रहेको अर्थतन्त्र अहिले झन् दबाबमा परेको छ । सन् २०१२ मा करिब ८ हजार डलर रहेको प्रतिव्यक्ति आय २०२४ सम्म घटेर ५ हजार डलरमा पुगेको छ । उच्च मुद्रास्फीति, भ्रष्टाचार र अन्तर्राष्ट्रिय प्रतिबन्धले यसमा मुख्य भूमिका खेलेका छन् ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का अनुसार वर्तमान द्वन्द्वका कारण थप ४१ लाख मानिस गरिबीको रेखामुनि झर्न सक्ने जोखिम छ । हवाई आक्रमणका कारण ठूलो भौतिक क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार २३ हजारभन्दा बढी उद्योग र व्यवसाय प्रभावित भएका छन् । इरानका उपश्रम तथा सामाजिक सुरक्षा मन्त्री गुलामहोसेन मोहम्मदीका अनुसार करिब १० लाख मानिसले प्रत्यक्ष रूपमा रोजगारी गुमाएका छन् भने अप्रत्यक्ष रूपमा पनि त्यत्तिकै संख्या प्रभावित भएको अनुमान छ । समुद्री ढुवानी र आयातमा अवरोध आउँदा आर्थिक गतिविधि थप सुस्त बनेको छ । विज्ञ हादी कहालजादेहका अनुसार देशका करिब ५० प्रतिशत रोजगारी जोखिममा छन् र थप ५ प्रतिशत जनसंख्या गरिबीमा धकेलिन सक्ने अवस्था छ ।
यसबीच बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरूको संख्या तीव्र रूपमा बढेको छ । पछिल्ला दुई महिनामा मात्र १ लाख ४७ हजार आवेदन परेका छन्, जुन गत वर्षको तुलनामा झन्डै तीन गुणा बढी हो ।








