Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – सन् १९४५ को हवाई आक्रमणमा जलेर नष्ट भएको टोकियोस्थित ‘शिन्जुकु ग्योएन’ राष्ट्रिय निकुञ्जको एक ऐतिहासिक शाही विश्राम गृहको पुनर्निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । सोही अवसरमा सोमबार निकुञ्ज परिसरमा एक विशेष शिलान्यास समारोह आयोजना गरिएको थियो ।

जापानको वातावरण मन्त्रालयले ‘निहोनकान गोतेन’ नामक उक्त ऐतिहासिक भवनको बाहिरी र भित्री बनावटलाई पुराना तस्बिर, ऐतिहासिक अभिलेख र अन्य समान शाही सुविधाहरूको अध्ययन गरी दुरुस्तै उतार्ने लक्ष्य राखेको छ । यो महत्त्वाकांक्षी परियोजना सन् २०२८ को मार्च अन्त्यसम्ममा सम्पन्न गर्ने योजना छ ।

काठबाट निर्मित यो एकतले संरचनालाई मेइजी काल (१८६८-१९१२) मा तत्कालीन शाही गृह मन्त्रालयले एक पूर्व ‘सामुराई’ निवासबाट शाही विश्राम गृहमा परिणत गरेको थियो। शिन्जुकु ग्योएन शाही बगैँचाको रूपमा स्थापित भएपछि शाही परिवारका सदस्यहरूले यस भवनलाई भ्रमणका क्रममा विश्राम र भोजनका लागि प्रयोग गर्ने गर्दथे ।

पुनर्निर्माण हुन लागेको नयाँ भवन करिब ५१० वर्गमिटर क्षेत्रफलमा फैलिनेछ । यसलाई सन् १९२१ ताकाको ऐतिहासिक स्वरूपमा निर्माण गरिने भए तापनि सुरक्षाका दृष्टिकोणले यसमा आधुनिक भूकम्प प्रतिरोधी र अग्नि प्रतिरोधी प्रविधिहरूको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

शिन्जुकु ग्योएन हाल वातावरण मन्त्रालयको प्रत्यक्ष व्यवस्थापनमा रहेको छ। शिलान्यास समारोहमा बोल्दै मन्त्रालयका वरिष्ठ उपमन्त्री सिगेहारु ओयामाले भने, ‘यो सुविधाले हाम्रा गौरवमय परम्परालाई जगेर्ना गर्नुका साथै आगन्तुकहरूलाई शान्ति र स्थिरताको अनुभूति गराउनेछ भन्ने मैले आशा लिएको छु ।’

तपाईको प्रतिक्रिया