काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि २४ घण्टाभित्रै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ । दाहिने घुँडाको चोटबाट ग्रसित साम्बाले राज्य र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सहयोग नपाएपछि सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेकी थिइन् ।
उनको अपील लगत्तै देश–विदेशमा रहेका नेपालीहरूबाट अभूतपूर्व समर्थन जुटेको हो । मंगलबारसम्म नेपाली बैंक खातामा एक करोड रुपैयाँ र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । उपचारका लागि आवश्यक रकम संकलन भइसकेको भन्दै साम्बाले अब थप सहयोग नगर्न आग्रह गरेकी छन् ।
‘मेरो उपचारका लागि आवश्यक भन्दा बढी रकम संकलन भइसकेको छ,’ साम्बाले भनिन्, ‘यसले कतारमा हुने उपचार, आवास र यातायात खर्चसमेत धान्ने देखिएकाले आजैबाट दुवै एकाउन्टमा सहयोग रकम रोकिदिनुहुन अनुरोध गर्दछु ।’
चोटका कारण शारीरिक र मानसिक रूपमा थकित बनेकी साम्बाले जनस्तरबाट प्राप्त यो साथले आफूलाई नयाँ ऊर्जा दिएको बताएकी छन् । उनले समर्थकहरूको विश्वासलाई शिरोधार्य गर्दै छिटै मैदान फर्कने वाचा गरेकी छन् । उनले भावुक हुँदै भनिन्, ‘म अझ मजबुत भएर फर्कनेछु र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्नेछु । म एक्लो छैन भन्ने महसुस गराउनुहुने सबैमा धन्यवाद ।’
साम्बाको उपचार कतारस्थित अस्पेटार अस्पतालमा हुने बताइएको छ । यसअघि पनि उनले सोही अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी थिइन् ।








