Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा विगत केही महिनादेखि चामलको मूल्य आकाशिएपछि उपभोक्ताहरू मर्कामा परेका छन् । कृषि मन्त्रालयको तथ्यांकअनुसार, जनवरी ३० को सातामा ५ किलो चामलको औसत मूल्य ४,१८८ येन पुगेको छ ।

गत वर्ष चामलको अभाव भएपछि मूल्य बढ्न सुरु भएको थियो । यद्यपि, अहिले पसलहरूमा चामल पर्याप्त मात्रामा उपलब्ध छ र पछिल्लो फसल पनि राम्रो भएको बताइएको छ । यस्तो अवस्थामा पनि मूल्य नघटेपछि जापानको प्रतिनिधिसभा निर्वाचनमा ‘चामल नीति’ मुख्य एजेन्डा समेत बनेको थियो ।

यसै सन्दर्भमा, मित्सुबिसी रिसर्च इन्स्टिच्युट (एमआरआई) का कृषि नीति विशेषज्ञ किमिओ इनागाकीले एक प्रतिवेदन सार्वजनिक गर्दै चामलको वास्तविक ‘उचित मूल्य’ ५ किलोको ३,२५० येन हुनुपर्ने गणना गरेका छन् । विशेषज्ञ इनागाकीका अनुसार, सन् २०२५ को चामल उत्पादन ७४.७ लाख मेट्रिक टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ लाख ७६ हजार टन बढी हो । उत्पादन बढे पनि बजारमा मूल्य नघट्नुका पछाडि केही मुख्य कारणहरू छन्:-

पुरानो अभावको असर: सन् २०२२ देखि २०२४ को बीचमा करिब १० लाख टन चामलको अभाव भएको थियो । सरकारले सञ्चित कोटाबाट चामल निकासा गरे पनि अझै ३ देखि ४ लाख टनको खाडल बाँकी नै छ ।

किसानलाई दिइने अग्रिम भुक्तानी: जापान कृषि सहकारीले किसानलाई धान खरिद गर्दा उच्च अग्रिम भुक्तानी दिएका छन् । गत वर्ष अभावका बेला निजी व्यापारीहरूसँग प्रतिस्पर्धा गर्न सहकारीले ६० किलो धानको ३० हजार येनसम्म तिरेका थिए । महँगोमा किनिएको चामल सस्तोमा बेच्दा घाटा हुने भएकाले व्यापारी र सहकारीहरू मूल्य घटाउन हतारिएका छैनन् ।

इनागाकीका अनुसार चामलको मूल्य आगामी जुनदेखि अगस्टको बीचमा पुनरावलोकन हुन सक्छ । ‘यदि सन् २०२५ को मौज्दात पर्याप्त रह्यो र सन् २०२६ को फसल पनि राम्रो हुने संकेत देखियो भने, बिक्रेताहरूले पुरानो मौज्दात क्लियर गर्न मूल्य घटाउन सक्छन्,’ उनले भने ।

इनागाकीले किसानको जीविकोपार्जन र उपभोक्ताको क्रयशक्तिलाई सन्तुलनमा राखेर ३,२५० येनको दर प्रस्ताव गरेका हुन् । उनको विश्लेषण अनुसार:-

  • २० हेक्टरभन्दा बढी जमिन भएका किसानले ६० किलो चामलको १५ हजारदेखि १८ हजार येन पाएमा उनीहरूको जीवनस्तर सहज चल्छ ।

  • यस आधारमा होलसेल मूल्य २० हजार येन (प्रति ६० किलो) हुन आउँछ, जसले खुद्रा बजारमा ५ किलो चामलको मूल्य ३,२५० येन (कर करसहित) कायम गर्छ ।

आयातित चामलसँगको प्रतिस्पर्धा
जापानमा अमेरिकी चामलको आयात पनि ह्वात्तै बढेको छ। २०२५ मा आयातित चामल अघिल्लो वर्षको तुलनामा ९५ गुणाले बढेको छ । अमेरिकी चामल हाल बजारमा ५ किलोको ३,५०० येन आसपासमा उपलब्ध छ । इनागाकी भन्छन्, ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई आकर्षित गर्न घरेलु चामलको मूल्य आयातितभन्दा कम अर्थात् ३,२५० येन हुनु व्यावहारिक देखिन्छ ।’

वर्तमान इशिबा प्रशासन र कृषि मन्त्रालयले उत्पादन बढाउन जोड दिए पनि मूल्य नियन्त्रणमा भने ठोस कदम चालेको छैन । कृषि मन्त्री नोरिकाजु सुजुकीले सरकारले चामलको मूल्य निर्धारणमा ‘प्रतिबद्धता’ नजनाउने बताएका थिए । यसको आलोचना गर्दै इनागाकी सुझाव दिन्छन्, ‘सरकारले चामलको एउटा लक्षित मूल्य तोक्नुपर्छ । उत्पादन नियन्त्रण गर्नुको मुख्य उद्देश्य मूल्य स्थिरता हुनुपर्छ ताकि उपभोक्ताले ढुक्कसँग चामल किन्न सकून् । यदि बजारमा मूल्य तोकिएभन्दा धेरै घट्यो भने किसानलाई क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ।’

जापानको मुख्य खाद्यान्न मानिने चामलको यो मूल्य वृद्धिले सर्वसाधारणको भान्सा महँगो बनाएको छ । विशेषज्ञको यो ‘फेयर प्राइस’ (उचित मूल्य) को प्रस्तावलाई सरकार र सरोकारवालाले कसरी लिन्छन्, त्यो भने हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया