Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशलाई अमेरिकासँग हुने सबै व्यापारमा २५ प्रतिशत ट्यारिफ लगाइने घोषणा गरेका छन् । इरानमा पछिल्ला वर्षकै सबैभन्दा ठूलो सरकार–विरोधी प्रदर्शन चर्किरहेका बेला अमेरिकाले प्रतिक्रिया कसरी दिने भन्ने विषयमा विचार गरिरहेको समयमा ट्रम्पको यो कडा चेतावनी आएको हो ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत भनेका छन् । “आजैदेखि लागू हुने गरी इरानको इस्लामिक रिपब्लिकसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग हुने सबै कारोबारमा २५% ट्यारिफ तिर्नुपर्नेछ” उनले यो आदेश अन्तिम र निर्णायक हो भने पनि यसबारे थप स्पष्ट विवरण दिएका छैनन् ।

तर यो नीतिबारे ह्वाइट हाउसको वेबसाइटमा आधिकारिक दस्तावेज भने सार्वजनिक भएको छैन । साथै, ट्रम्पले कुन कानुनी आधारमा ट्यारिफ लागू गर्ने वा इरानका सबै व्यापार साझेदारलाई लक्ष्य बनाइने कि नबनाइने भन्ने विषय पनि खुलाएका छैनन् । ह्वाइट हाउसले सञ्चारमाध्यमको टिप्पणी मागमा तत्काल प्रतिक्रिया दिएको छैन ।

विशेषज्ञहरूका अनुसार यस्तो ट्यारिफ लागू भए अमेरिकामा वस्तु आयात गर्ने कम्पनीहरूले अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ, जसको असर अन्ततः बजार मूल्य र उपभोक्तामाथि पनि पर्न सक्छ ।

इरान तेल उत्पादक देश ओपेक (OPEC) सदस्य हो । अमेरिकाले लामो समयदेखि इरानमाथि कडा प्रतिबन्ध लगाउँदै आएको छ । इरानले निर्यात गर्ने तेलमध्ये ठूलो हिस्सा चीनतर्फ जाने गरेको बताइएको छ । टर्की, इराक, संयुक्त अरब इमिरेट्स (UAE) र भारत पनि इरानका प्रमुख व्यापार साझेदारमध्ये पर्दछन् ।

यसैबीच, चीनको वासिङ्टनस्थित दूतावासले ट्रम्पको कदमको आलोचना गर्दै चीनले आफ्ना हित जोगाउन “सबै आवश्यक कदम” चाल्ने जनाएको छ । चीनले एकतर्फी प्रतिबन्ध र अन्य देशमाथि दबाब दिने नीतिको विरोध गर्ने स्पष्ट पारेको छ । चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, “ट्यारिफ युद्ध र व्यापार युद्धमा कसैको जित हुँदैन । दबाब र धम्कीले समस्या समाधान हुँदैन ।”

उता अमेरिकासँग पछिल्लो वर्ष व्यापार सम्झौता भएका जापान र दक्षिण कोरियाले पनि घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताएका छन् । दक्षिण कोरियाको व्यापार मन्त्रालयले “अमेरिकी सरकारका ठोस कदम स्पष्ट भएपछि आवश्यक उपाय अपनाइने” जनाएको छ । जापानका उप–मुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीले पनि “पछिल्ला कदम र यसको असर अध्ययन गरेर उपयुक्त प्रतिक्रिया दिइने” बताएका छन् ।

यस घटनाक्रमको पृष्ठभूमिमा इरानमा जारी प्रदर्शनलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो सरकार–विरोधी आन्दोलन मानिएको छ । प्रदर्शनहरू सुरुमा आर्थिक संकट सम्बन्धी असन्तोषबाट सुरु भए पनि विस्तारै सत्तारूढ धार्मिक व्यवस्थाको अन्त्य माग्ने नारा समेत उठ्न थालेको बताइएको छ।

अमेरिकास्थित अधिकारसम्बन्धी समूह HRANA का अनुसार, डिसेम्बर २८ देखि सुरु प्रदर्शनमा हालसम्म ५९९ जनाको मृत्यु पुष्टि गरिएको छ, जसमा ५१० प्रदर्शनकारी र ८९ सुरक्षाकर्मी रहेको उल्लेख छ ।

यस विषयमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छन् “राष्ट्रपतिसँग धेरै विकल्प छन्, तर कूटनीति नै पहिलो विकल्प हो ।”

ट्रम्पले दोस्रो कार्यकालमा विभिन्न विषयमा अमेरिकाका विरोधी राष्ट्रसँग जोडिएका देशहरूलाई लक्षित गर्दै ट्यारिफ धम्की दिने र लागू गर्ने नीति बारम्बार अपनाउँदै आएका छन् । यसै क्रममा ट्रम्पका केही ट्यारिफ नीतिहरू अहिले अमेरिकी सर्वोच्च अदालतको कानुनी परीक्षणमा समेत परेको बताइएको छ । विश्व बैंकको पछिल्लो उपलब्ध तथ्यांकअनुसार, इरानले २०२२ मा १४७ देशसँग निर्यात व्यापार गरेको थियो ।

(स्रोत: रोयटर्स) ***

तपाईको प्रतिक्रिया