Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

कोपेनहेगन – डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिने विषयमा दिएको अभिव्यक्तिलाई ‘धम्की’ भन्दै तत्काल रोक्न आग्रह गरेकी छन् ।

फ्रेडरिक्सेनले भनिन्, “ग्रिनल्यान्डलाई अमेरिकाले नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा गर्नु अर्थहीन कुरा हो ।” उनले थपिन्, “डेनिस राज्यमण्डलभित्र रहेका तीनमध्ये कुनै पनि राष्ट्रलाई अमेरिकाले विलय गर्ने अधिकार छैन ।”

उनको प्रतिक्रिया ट्रम्पका एक सहयोगी स्टिफेन मिलरकी पत्नी केटी मिलरले सामाजिक सञ्जालमा अमेरिकी झन्डाका रङमा रंगिएको ग्रिनल्यान्डको नक्सा र छिट्टै भन्ने शब्दसहित पोस्ट गरेपछि आएको हो ।

ट्रम्पले यसअघि पनि पटक–पटक ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने सम्भावनाबारे कुरा गर्दै आएका छन् । उनले यसको रणनीतिक अवस्थिति र खनिज सम्पदालाई आधार बनाउँदै यस्तो दाबी गरेका हुन् । फ्रेडरिक्सेनको टिप्पणीपछि पनि ट्रम्पले आफ्नो अडान दोहोर्‍याएका छन् ।

डेनिस सरकारको वेबसाइटमा जारी वक्तव्यमा फ्रेडरिक्सेनले आफूले अमेरिकालाई “एकदमै प्रत्यक्ष रूपमा” सम्बोधन गरेको बताएकी छन् । डेनमार्क र ग्रिनल्यान्ड नाटोका सदस्य भएको र गठबन्धनको सुरक्षा प्रत्याभूतिको दायरामा रहेको उनले स्पष्ट पारिन् ।

उनका अनुसार डेनमार्क र अमेरिकाबीच पहिल्यै रक्षा सम्झौता छ, जसले अमेरिकालाई ग्रिनल्यान्डमा पहुँच प्रदान गर्छ । साथै डेनमार्कले आर्कटिक क्षेत्रमा सुरक्षा लगानी पनि बढाएको छ ।

“ऐतिहासिक रूपमा निकट मित्र राष्ट्रमाथि र बिक्रीका लागि होइन भनेर स्पष्ट रूपमा भनिसकेको अर्को देश तथा त्यहाँका जनतामाथि गरिएका धम्की तत्काल बन्द गर्न म अमेरिकालाई कडा आग्रह गर्छु,” फ्रेडरिक्सेनले भनिन् ।

यसको केही घण्टापछि एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले ग्रिनल्यान्ड आवश्यक रहेको दाबी दोहोर्‍याए । “राष्ट्रिय सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रिनल्यान्ड चाहिन्छ र डेनमार्कले यो काम गर्न सक्दैन,” उनले भने ।

यसअघि अमेरिकाका लागि डेनमार्कका राजदूतले केटी मिलरको पोस्टप्रति प्रतिक्रिया जनाउँदै अमेरिका–डेनमार्क मित्र राष्ट्र भएको ‘मैत्रीपूर्ण सम्झना’ गराएका थिए र डेनमार्कले आफ्नो भौगोलिक अखण्डताको सम्मान अपेक्षा गरेको बताएका थिए ।

ग्रिनल्यान्ड आर्कटिक क्षेत्रमा अवस्थित विशाल टापु हो, जहाँ करिब ५७ हजार जनसंख्या छ । सन् १९७९ देखि यसले व्यापक स्वशासन पाएको भए पनि रक्षा र वैदेशिक नीति भने डेनमार्ककै हातमा छ । अधिकांश ग्रिनल्यान्डवासी दीर्घकालमा डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन्, तर जनमत सर्वेक्षणले अमेरिकाको हिस्सा बन्ने विषयमा व्यापक विरोध रहेको देखाएको छ ।

तपाईको प्रतिक्रिया