Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – भेनेजुएलाको सत्ता सञ्चालन गरिरहेका राष्ट्रपति निकोलस मादुरो अहिले अमेरिकाको न्युयोर्कस्थित ‘ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन’ (डिइए) को हिरासतमा पुगेका छन् । अमेरिकी सेनाको विशेष र गोप्य अपरेसनमार्फत उनलाई राजधानी काराकसबाट नियन्त्रणमा लिई न्युयोर्क उतारिएको हो ।

मादुरोको पक्राउ र अमेरिका चलानको घटनाक्रम कुनै हलिउड चलचित्रको पटकथाभन्दा कम छैन । बिहानै अमेरिकी हेलिकप्टरमार्फत काराकसबाट उठाइएका मादुरोलाई सुरुमा क्यारेबियन सागरको अज्ञात स्थानमा तैनाथ अमेरिकी नौसैनिक जहाज ‘युएसएस इवो जिमा’ मा लगिएको थियो । त्यसपछि उनलाई क्युबास्थित अमेरिकी नेभल बेस ‘ग्वान्टानामो बे’ पुर्‍याइयो । त्यहाँबाट अर्को विमानमार्फत न्युयोर्कको ओरेन्ज काउन्टीस्थित स्टुअर्ट एयर फोर्स बेसमा ल्याइयो र अन्त्यमा हेलिकप्टरबाट म्यानहट्टनस्थित डिइएको मुख्यालयमा उतारियो ।

आफ्नो गिरफ्तारीदेखि अमेरिकी हिरासतसम्म आइपुग्दा मादुरोले करिब ३,३०० किलोमिटर (२,१०० माइल) को यात्रा तय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार, मादुरो र उनकी पत्नी (प्रथम महिला) सिलिया फ्लोरेसलाई ‘साउदर्न डिस्ट्रिक्ट अफ न्युयोर्क’ मा अभियोग दर्ता गरिएको छ । उनीहरूमाथि ‘नार्को–टेररिज्म’ (लागुऔषध आतङ्कवाद) को षड्यन्त्र, कोकिन आयात, र अमेरिकाविरुद्ध प्रयोग गर्ने उद्देश्यले मेसिनगन तथा विष्फोटक पदार्थहरूको भण्डारण गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको छ ।

हाल मादुरो दम्पतीको बायोमेट्रिक विवरण, औँठाछाप र तस्बिर (मगसट) लिने प्रक्रिया सुरु भएको छ । स्वास्थ्य परीक्षणपश्चात् उनीहरूलाई सोमबारसम्म अदालतमा उपस्थित गराउने (अरेन्जमेन्ट) तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत मादुरोलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै यसलाई अमेरिकी सफलताको रूपमा चित्रण गरेका छन् ।

यता, फ्लोरिडाको डोरालमा भेनेजुएली आप्रवासीहरूले यो घटनालाई उत्सवका रूपमा लिएका छन् । २१ वर्षीय मियामीबासी लुइस अट्रिस्टेन जस्ता युवाहरूले ट्रम्पको कदमको प्रशंसा गर्दै भनेका छन्, ‘विगतका प्रशासनले गर्न नसकेको काम ट्रम्पले गरे । अब भेनेजुएलाको अर्बौं मूल्यको तेल र स्रोतसाधनको सदुपयोग भई देशको अर्थतन्त्र सुध्रिने आशा जागेको छ ।’

मादुरोलाई नियन्त्रणमा लिनुअघि भेनेजुएलाको राजधानी काराकसमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको थियो । करिब एक घण्टासम्म सुनिएको विमानको आवाज र ठूला विष्फोटले सहरमा त्रास फैलिएको थियो भने विद्युत् आपूर्ति समेत बन्द भएको थियो । भेनेजुएलाका अधिकारीहरूले भने अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको भन्दै यसको कडा निन्दा गरेका छन् ।

तपाईको प्रतिक्रिया