काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध ठूलो आकारको सैन्य कारबाही गर्दै त्यहाँका राष्ट्रपतिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत मादुरो दम्पतीलाई पक्राउ गरी भेनेजुएलाको सीमाबाट बाहिर लगिसकिएको जानकारी दिएका हुन् । यद्यपि, उनीहरूलाई कुन स्थानमा लगिएको छ भन्नेबारे ह्वाइट हाउसले विस्तृत विवरण सार्वजनिक गरेको छैन । यो ‘हाई प्रोफाइल’ पक्राउ अपरेसन अमेरिकी सेनाको एलिट मानिने प्रतिआतङ्कवाद एकाइ ‘डेल्टा फोर्स’ले सञ्चालन गरेको थियो ।
भेनेजुएलाको राजधानी कराकासस्थित फोर्ट ट्युनालगायतका मुख्य सैन्य अखडाहरूमा अमेरिकी आक्रमण र विष्फोटका घटना भइरहँदा सोही मौका पारेर डेल्टा फोर्सले मादुरोलाई नियन्त्रणमा लिएको बुझिएको छ । रिपब्लिकन सिनेटर माइक लीका अनुसार राजधानीमा गरिएका विष्फोट र आक्रमणहरू मादुरोलाई पक्राउ गर्न गएको विशेष टोलीको सुरक्षा सुनिश्चित गर्न र ध्यान मोड्नका लागि गरिएको रणनीतिक कदम थियो ।
अमेरिकी महान्यायाधिवक्ताले मादुरोविरुद्ध अन्तर्राष्ट्रिय लागुऔषध तस्करी र आतङ्कवाद (नार्को–टेररिज्म) को गम्भीर अभियोग लगाएका छन् । वासिङ्टनले लामो समयदेखि मादुरो अवैध रूपमा सत्तामा रहेको र राज्य संयन्त्रलाई नै लागुऔषध ओसारपसारमा प्रयोग गरेको आरोप लगाउँदै आएको थियो । उनको गिरफ्तारीमा सघाउने सूचना दिनेलाई अमेरिकाले यसअघि नै ५ करोड डलर पुरस्कारको घोषणा गरेको थियो ।
आफ्ना राष्ट्रपतिको गिरफ्तारीपछि भेनेजुएला सरकारले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे सरकारलाई कुनै जानकारी नभएको बताउँदै अमेरिकाले तत्काल उनीहरूको जीवनको प्रमाण (प्रुफ अफ लाइफ) दिनुपर्ने माग गरेकी छन् ।








