टोकियो – जापानी प्रधानमन्त्री सानई ताकाइची सोमबार आफ्नो आधिकारिक सरकारी निवासमा सरेकी छिन् । तर, प्रधानमन्त्रीको यो नयाँ बसाइँसराइले उनलाई निद्रामा थप समस्या पार्न सक्ने चर्चा चल्न थालेको छ । कारण हो- उक्त निवासमा शताब्दीअघिका जापानी सैनिकहरूको ‘आत्मा’ भड्किन्छ भन्ने विश्वास ।
पदभार ग्रहण गरेको दुई महिनाभन्दा बढी समयपछि ताकाइची टोकियोको मध्य भागमा रहेको आफ्नो कार्यालयसँगै जोडिएको ढुंगा र इँटाले बनेको ऐतिहासिक भवनमा सरेकी हुन् । यसअघि उनी सांसदहरूका लागि छुट्याइएको आवासमा बस्दै आएकी थिइन् । तर, डिसेम्बरको सुरुमा गएको ठूलो भूकम्पपछि कार्यालय आइपुग्न ३५ मिनेट लागेको भन्दै उनको आलोचना भएको थियो । सोही कारण पनि उनी सरकारी निवासमा सरेको ठानिएको छ ।
‘काम, काम, काम, काम र काम’को प्रतिबद्धतासहित सत्तामा आएकी ६४ वर्षीया ताकाइचीले कार्यभार सम्हालेदेखि आफू दैनिक २ देखि ४ घण्टा मात्र सुत्ने गरेको बताउँदै आएकी छिन् । अब ‘भूत बंगला’ को उपमा पाएको नयाँ निवासले उनको थोरै निद्रामा पनि बाधा पुर्याउने हो कि भन्ने कौतूहल जाग्नु स्वाभाविक बनेको छ ।
रक्तपातपूर्ण इतिहास र ‘प्रेतात्मा’ को चर्चा
सन् १९२९ मा निर्माण सम्पन्न भएको यो भवनको वास्तुकला अमेरिकी आर्किटेक्ट फ्रान्क लोइड राइटको इम्पेरियल होटेलको शैलीबाट प्रभावित छ । यो भवन सन् १९३० को दशकमा दुईपटक असफल सैन्य कू (विद्रोह) को साक्षी बनेको थियो ।
त्यसबेला युवा सैन्य अधिकारीहरूले तत्कालीन प्रधानमन्त्रीसहित धेरै उच्च अधिकारीहरूको हत्या गरेका थिए । भवनमा अझै पनि गोलीका निसानहरू देख्न सकिन्छ । सोही घटनामा मारिएकाहरूको आत्मा अझै पनि भवनको कोरिडोरमा डुलिरहने जनविश्वास छ ।
ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबाले पनि सन् २००५ मा मर्मत गरिएको यही निवास प्रयोग गरेका थिए । उनले आफूलाई भूतसँग डर नलाग्ने बताएका थिए । त्यसभन्दा अगाडि फुमियो किसिदाले पनि आफूले कुनै प्रेतात्मा नदेखेको र गहिरो निद्रामा सुतेको अनुभव सुनाएका थिए ।
यद्यपि, पूर्व प्रधानमन्त्री एवं ताकाइचीका पूर्व गुरु सिन्जो आबे र योसिहिदे सुगाले भने यो निवासमा बस्न अस्वीकार गरेका थिए । जसका कारण सन् २०२१ सम्म करिब ९ वर्षसम्म यो भवनमा कोही पनि प्रधानमन्त्री बसेका थिएनन् र कथित ‘आत्मा’ हरू एक्लै रहेका थिए ।








