Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई सामान्य जनआक्रोश वा युवाहरूको मागसँग मात्र जोडेर हेर्न नमिल्ने जिकिर गरेका छन् । उक्त घटनाबारे गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान दिँदै उनले शान्तिपूर्ण आन्दोलनमा आपराधिक तत्त्वको घुसपैठ भएको र घटना सुनियोजित तवरले गराइएको दाबी गरे ।

प्रदर्शनकारीको आवरणमा भएको तोडफोड र आगजनीलाई ‘क्षणिक आवेग’ मान्न आफू तयार नरहेको स्पष्ट पार्दै लेखकले भने, ‘राज्यका अमूल्य अभिलेखहरू खरानी बनाउनु र राष्ट्रिय संरचनाहरूलाई भग्नावशेषमा परिणत गर्नु भीडको तत्काल उब्जिएको रिस मात्र हुन सक्दैन। यो पूर्वतयारीका साथ गरिएको गम्भीर षड्यन्त्र हो ।’

आफ्नो कार्यकालमा मन्त्रालयको नीतिगत नेतृत्व सम्हालेका लेखकले घटनाको प्रकृति हेर्दा ‘जेनजी’ (युवा पुस्ता) को आन्दोलनलाई ढाल बनाएर अवाञ्छित तत्त्वले फाइदा उठाएको बताए । ‘भदौ २३ मा जेनजीले उठाएका मागहरू जायज र पवित्र थिए। तर, सोही भिडमा मिसिएर जसरी राज्य संयन्त्रमाथि प्रहार गरियो, त्यसलाई केवल युवाहरूको आवेग भन्नु ती इमानदार युवाहरूप्रतिको घोर अन्याय हुनेछ,’ उनले आयोगसमक्ष भने ।

घटनामा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिँदै उनले आयोगलाई आन्दोलनभित्रको ‘घुसपैठ’ को पाटोलाई सूक्ष्म ढंगले केलाउन आग्रह गरे । ‘आन्दोलनमा कसले कसरी घुसपैठ गर्‍यो भन्ने कुराको जरैसम्म पुगेर अनुसन्धान हुनुपर्छ । भविष्यमा पनि यस्ता घटना दोहोरिन नदिन आयोगले सत्यतथ्य बाहिर ल्याउनेछ भन्नेमा म विश्वस्त छु,’ लेखकले भने ।

उनले राज्यका ऐतिहासिक दस्ताबेज र संरचना समाप्त पारेर कुनै पनि शासन व्यवस्था अघि बढ्न नसक्ने भन्दै ती आक्रमणहरू योजनाबद्ध थिएनन् भनेर आफ्नो मनले स्वीकार गर्न नसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया