काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीचको ‘सरप्राइज’ एकतापछि मुलुकको परम्परागत राजनीतिमा ठूलो हलचल मच्चिएको छ । आइतबार बिहान भएको सात बुँदे सहमतिसँगै आगामी निर्वाचनमा ‘घण्टी’ चुनाव चिह्न लिएर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेपछि मुलुकको राजनीति तरंगित भएको हो ।
रास्वपा केन्द्रीय समितिले पनि सहमतिलाई अनुमोदन गरेसँगै दशकौंदेखि सत्ता राजनीतिमा हालीमुहाली गरिरहेका पुराना दलहरू दबाबमा परेका छन् । २०७९ को निर्वाचनयता निरन्तर चुनौती खेपिरहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (अहिलेको नेपाली कम्युनिस्ट पार्टी)का लागि रवि-बालेनको यो समीकरण सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । जनतामा बढ्दो निराशा र पुराना दलप्रतिको वितृष्णालाई क्यास गर्दै उदाएका दुई शक्तिशाली पात्र एकै ठाउँमा उभिएपछि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको गणित नै उलटफेर हुने विश्लेषण गर्न थालिएको छ ।
पुराना दलहरु बाहिर ‘नर्मल’, भित्र त्रास !
रवि-बालेन एकतालाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले दिएको प्रतिक्रियाले बेचैनीको संकेत गरेको छ । पोखरेलले एकतालाई ‘भूराजनीतिक षड्यन्त्र’ को संज्ञा दिँदै नेपाललाई युक्रेन बनाउने खेलको दोस्रो चरण सुरु भएको टिप्पणी गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अहिलेको सहमति त्यसैको निरन्तरता हो ।’ रवि-बालेनको सहकार्यलाई सिधै विदेशी षड्यन्त्र देख्नुले एमाले आफ्नो परम्परागत भोट बैंक गुम्ने त्रासमा छ । एकताले अर्थ नराख्ने दाबी गरे पनि भित्री रूपमा पार्टी पंक्ति तरंगित बनेको छ ।
नेपाली कांग्रेसले यो समीकरणलाई बाहिरी रूपमा सामान्य भने पनि भित्रभित्रै ठूलो चुनौती महसुस गरेको छ । कांग्रेस उपसभापति धनराज गुरुङले रवि-बालेनको मिलनलाई ‘अनौठो नमानेको’ प्रतिक्रिया दिए । उनले भने, ‘को-को मिल्छन्, को-को फुट्छन्, राजनीतिक यात्रामा यो भइरहने कुरा हो । कांग्रेसले राणा र पञ्चायतका चुनौती सामना गरेको छ, त्यसैले यसलाई गम्भीर ढंगले लिएका छैनौं ।’
यद्यपि, कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले नयाँ दललाई ‘१० वर्ष पार्टी चलाएर देखाउन’ चुनौती दिनुले कांग्रेस वृत्तमा नयाँ शक्तिको उदयप्रति संशय र आक्रोश दुवै रहेको प्रष्ट देखाउँछ । पुराना दलहरूले नयाँ शक्तिलाई ‘पर्खेर हेर्ने’ रणनीति बनाए पनि चुनावी परिणाम आफ्नो हातबाट फुत्किने डरले उनीहरूलाई सताएको छ । कांग्रेस र कम्युनिष्टको ३६ वर्षे शासनशैलीबाट वाक्क भएका मतदाताका लागि रवि-बालेनको गठबन्धन बलियो ‘तेस्रो ध्रुव’ बन्ने निश्चित छ । रास्वपाको संगठन र बालेनको ‘क्रेज’ मिसिँदा त्यसले सिधै पुराना दलको भोट काट्नेछ ।
नेकपा (माओवादी केन्द्र) निकट नेकपाका प्रवक्ता अग्नि सापकोटाले ध्रुवीकरणलाई सकारात्मक भने पनि नयाँ शक्तिमा वैचारिक स्पष्टता नभएको आरोप लगाए । उनले भने, ‘पुराना दललाई गाली गरेर मात्र राजनीति हुँदैन ।’
मधेश र अन्य साना दलमा पनि कम्पन
रवि-बालेनको सहमतिमा संघीयता र धर्मनिरपेक्षता जस्ता विषय नसमेटिएको भन्दै जसपा नेपाल र राप्रपाले प्रश्न उठाएका छन् । जसपा नेता मनीष सुमनले सहमतिलाई ‘जेनजी’ को माग सम्बोधन गर्ने प्रयास भने पनि संघीयताको मुद्दा ओझेलमा पर्न सक्ने चिन्ता व्यक्त गरे । उता, धरानका मेयर हर्क साम्पाङले बालेनले विदेशी एजेन्डा बोकेको गम्भीर आरोप लगाउँदै आक्रोश पोखेका छन् ।
बालेनलाई भावी प्रधानमन्त्री र रविलाई पार्टी कमाण्डरका रूपमा अघि सार्ने रास्वपाको निर्णयले आगामी निर्वाचनलाई ‘पुराना भर्सेस नयाँ’ को लडाइँमा परिणत गरिदिएको छ । शनिबार साँझदेखि आइतबार बिहानसम्म चलेको म्याराथन वार्तापछि असिम शाहको कार्यालयमा जुटेको यो सहमतिले सिंहदरबारको दौडमा रहेका देउवा, ओली र दाहाल जस्ता पुराना अनुहारलाई विश्राम लिन बाध्य पार्ने परिस्थिति सिर्जना गरिदिएको छ ।








