समाचार सुन्नुहोस :
काठमाडौँ – मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण गर्ने निर्णय भएको छ। यससम्बन्धी सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो। बैठकले वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन र विश्लेषणपछि एकतामा जाने निष्कर्ष निकालेको जनाइएको छ।
विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई अघि बढाउने उद्देश्यले एकीकरण गरिएको उल्लेख छ। न्यायपूर्ण समाज निर्माणका लागि एकता आवश्यक रहेको निष्कर्ष पनि विज्ञप्तिमा समेटिएको छ।
यसअघि १० वैशाख २०७७ मा संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भई जसपा बनेको थियो। तर डेढ वर्ष नपुग्दै २०७८ भदौको दोस्रो साता जसपा विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको थियो। २०६३ सालपछि उपेन्द्र यादव र महन्थ ठाकुर मधेशको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएका थिए।








