काठमाडौं – वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको बहुप्रतिक्षित त्रिपक्षीय एकता वार्ता निर्णायक मोडमा पुगेर अड्किएको छ । आइतबार मध्यरातसम्म चलेको रस्साकस्सीपूर्ण वार्तामा पद र शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि एकता प्रक्रियाले मूर्तरूप लिन नसकेको हो ।
निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन भएकाले दलहरूमाथि चर्को दबाब छ । स्रोतका अनुसार, समयको यो चापलाई मध्यनजर गर्दै आज बिहान १० बजेसम्म सहमतिको अन्तिम प्रयास गरिनेछ । रवि र बालेनबीच आइतबार बिहानै एकतासम्बन्धी ७ बुँदे सहमति भइसकेको छ । तर, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका कुलमान घिसिङलाई गठबन्धनमा कुन ‘स्पेस’ दिने भन्ने विषय नै वार्ताको मुख्य तगारो बनेको छ ।
घिसिङ पक्षले पार्टीमा ‘सह-अध्यक्ष’ वा प्रधानमन्त्रीमा ‘आलोपालो’ प्रणालीको ग्यारेन्टी खोजेको छ । उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, सम्मानजनक शक्ति बाँडफाँट नभएसम्म विलय हुन नसकिने अडान उनीहरूको छ । यता, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि घिसिङले कार्यकारी भूमिकाको आकांक्षा राखेका कारण सहमति जुट्न नसकेको संकेत गरेका छन् । घिसिङले भने आइतबार नै पोखरामा आयोजित एक कार्यक्रममा ‘स्वाभिमान र सम्मान’ नगुम्ने गरी सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।
नयाँ राजनीतिक दलहरू एक हुनुपर्ने भन्दै ‘जेनजी’ (नयाँ पुस्ताका युवा) अभियानकर्मीहरूले तीनै नेतामाथि चर्को दबाब सिर्जना गरेका छन् । यही दबाबका बीच आइतबार मध्यरातमा केही युवाहरू घिसिङको निवासमै पुगेर एकताका लागि आग्रह गरेका थिए ।
वार्ता विफल भएपछि ‘हामी नेपाल’ का संस्थापक एवं युवा अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका छन् । ललितपुरको वार्तामा रवि र बालेनलाई कोठामा थुनेर मिलाउने प्रयास गरेका गुरुङले मध्यरातमा लेखेका छन्, ‘निर्णायक घडीमा कुलमान घिसिङ अलग देखिनु परिवर्तनका पक्षधरका लागि दुःखद हो । आजको समयले तपाईंहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ, कृपया देशलाई विभाजन होइन एकता दिनुहोस् ।’








