समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते घटेको घटनाको विषयमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्। आयोगले सोधपुछका लागि बोलाएपछि लेखक आज सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा भएका ती घटनाको छानबिन गरिरहेको आयोगले यसअघि पनि लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियाको निरन्तरतामा उनी आयोगसमक्ष उपस्थित भएर आफूसँग भएको जानकारी र घटनाको वास्तविक अवस्थाबारे स्पष्ट पार्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान तथा भदौमा भएका घटनासँग सम्बन्धित विभिन्न पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।








