समाचार सुन्नुहोस :
काठमाडौँ – बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ। युरोपेली युनियनकै गरिब देशमध्ये एक मानिने बुल्गेरिया युरो अपनाउने २१औँ राष्ट्र बनेको छ। तर युरो लागू हुन लाग्दा देशभर डर र अनिश्चितता देखिएको छ। धेरै नागरिकले युरो आएपछि महँगी बढ्ने र सामाजिक–आर्थिक अस्थिरता निम्तिन सक्ने आशङ्का व्यक्त गरेका छन्।
यसै वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ नारासहित युरोविरोधी अभियान पनि चलेको थियो। ग्रामीण र गरिब क्षेत्रका नागरिकमा नयाँ मुद्राप्रति बढी चिन्ता देखिन्छ। युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत नागरिक अझै युरोको विरोधमा छन्।
तर सरकार र समर्थकहरूले युरोले अर्थतन्त्र बलियो बनाउने, व्यापार सहज गर्ने र पश्चिमी देशसँगको सम्बन्ध सुदृढ गर्ने दाबी गरेका छन्। युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लेगार्डका अनुसार युरोले मूल्य स्थिरता र कम वित्तीय लागत ल्याउनेछ। पर्यटन क्षेत्रले पनि विशेष लाभ पाउने अपेक्षा गरिएको छ। यद्यपि राजनीतिक अस्थिरता र सम्भावित महँगीले आगामी दिन चुनौतीपूर्ण हुन सक्ने विश्लेषकहरूको भनाइ छ।








