काठमाडौं – नेपाली राजनीतिमा पद र अवसरको लागि हानथाप चलिरहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ पम्फा भुसालले भने उदाहरणीय निर्णय लिएकी छन् । पूर्वमन्त्री समेत रहेकी भुसालले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेसँगै उम्मेदवारीको चर्चा परिचर्चा चलिरहँदा भुसालले सामाजिक सञ्जालमार्फत आफू यसपटक चुनावी दौडबाट बाहिर रहने स्पष्ट पारेकी हुन् । नेतृ भुसालले विगतमा राजकीय र संसदीय अवसर पाइसकेका नेताहरूले अब नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने मत अघि सारेकी छन् । ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
ललितपुरसहित देशका विभिन्न निर्वाचन क्षेत्रबाट आफूलाई उम्मेदवार बन्न प्रस्ताव आए पनि त्यसलाई नम्रतापूर्वक अस्वीकार गरेको भुसालले जानकारी दिइन् । तत्कालीन माओवादीका तर्फबाट काठमाडौँ उपत्यकाजस्तो जटिल मानिने निर्वाचन क्षेत्रमा दुईपटक प्रत्यक्ष चुनाव जितेर इतिहास रचेकी भुसालले उक्त जितलाई ‘फलामको चिउरा चपाउनु’ सरह रहेको स्मरण गरेकी छन् ।
आफू उम्मेदवार नबने पनि पार्टीले अघि सार्ने उम्मेदवारलाई जिताउन मैदानमा खटिने प्रतिबद्धता उनले व्यक्त गरिन् । ‘अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,’ भुसालले भनेकी छन् ।
पम्फा भुसाल तत्कालीन माओवादी आन्दोलनबाट उदाएकी सशक्त महिला नेतृ हुन् । उनी पहिलो संविधानसभा निर्वाचन (२०६४) र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
संसदीय राजनीतिसँगै उनले कार्यकारी भूमिकामा पनि लामो अनुभव संगालेकी छन् । २०६४ सालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी भुसालले त्यसयता सामान्य प्रशासन (२०६५), शान्ति (२०६८) र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री (२०७८) को जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छन् ।








