Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – जापानी घरपरिवारहरूमा एक वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन अवस्थामा रहेका सामान वा ‘लुकेको सम्पत्ति’को मूल्य अनुमानित ९०.५३ ट्रिलियन येन (करिब ५७९ अर्ब डलर) रहेको पाइएको छ । अनलाइन ‘फ्ली मार्केट’ सञ्चालक ‘मर्कारी इंक’ले हालै गरेको एक सर्वेक्षणले यस्तो रोचक तथ्यांक बाहिर ल्याएको हो ।

अक्टोबरमा २ हजार ४ सय जनामा गरिएको उक्त सर्वेक्षण अनुसार, घरमा थन्किएर बसेका यस्ता सामग्रीमध्ये फेसन वा लत्ताकपडाको हिस्सा सबैभन्दा बढी अर्थात् ३३.६ प्रतिशत रहेको छ । त्यसपछि खेलौना तथा बाहिरी गतिविधि (आउटडोर) का सामग्रीसहित सौख र मनोरञ्जनका सामान २२.२ प्रतिशत र पुस्तक, सङ्गीत तथा ‘गेम’का सामग्री २१.२ प्रतिशत रहेका छन् । मर्कारी एपमा हुने कारोबारको औसत मूल्यका आधारमा यो कुल रकम गणना गरिएको हो ।

क्षेत्रगत रूपमा हेर्दा चुबु क्षेत्र (नागोयासहित) का मानिसहरूसँग सबैभन्दा धेरै ‘लुकेको सम्पत्ति’ रहेको पाइएको छ, जहाँ प्रतिव्यक्ति औसत ८ लाख ९८ हजार ७६५ येन बराबरका सामान थन्किएका छन् । त्यसपछि ओसाकासहितको किन्की क्षेत्रमा प्रतिव्यक्ति ८ लाख ५ हजार ८६ येन बराबरका सामान रहेका छन् । यी दुवै क्षेत्रहरूमा तुलनात्मक रूपमा ठूला घर र मानिसहरूको आम्दानी उच्च हुने गरेको बताइन्छ ।

सर्वेक्षणले प्रयोगविहीन सामानहरू हटाउने योजनाबारे पनि उत्तरदाताहरूलाई सोधेको थियो । जसबाट प्राप्त नतिजा अनुसार, सन् २०२५ को अन्त्यसम्ममा करिब १० ट्रिलियन येन बराबरका सामानहरू फालिन सक्ने (कवाडीमा जाने) सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया