Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

टोकियो – राजधानी टोकियोको उत्तर-पश्चिमतर्फ रहेको गुन्मा प्रान्तको एक एक्सप्रेसवेमा ६७ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिनाकामीस्थित कान-एत्सु एक्सप्रेसवेको बाहिरी लेनमा साँझ करिब ७:३० बजे यो दुर्घटना भएको हो । हिमपातका कारण सडकमा जमेको बरफले चिप्लिएर गाडीहरू अनियन्त्रित हुँदा यो शृंखलाबद्ध दुर्घटना निम्तिएको अनुमान गरिएको छ । दुर्घटनालगत्तै २० वटा सवारीसाधनमा आगलागी भएको थियो, जसलाई पूर्ण रूपमा नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूलाई सात घण्टाभन्दा बढी समय लागेको थियो ।

कसरी भयो दुर्घटना ?
दुर्घटनाको सुरुवात तब भयो जब एउटा ट्रक, एकल दुर्घटनापछि सडकमा रोकिएको अर्को ट्रकसँग ठोक्कियो । यसले करिब ३०० मिटर क्षेत्रमा सवारीसाधनहरू एकपछि अर्को गर्दै ठोक्किने क्रम सुरु गरायो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा टोकियोकी ७७ वर्षीया वृद्धा रहेकी छन्, जो आफ्नो परिवारसँग कारको पछाडिको सिटमा सवार थिइन् । त्यस्तै, अर्का एक ठूलो ट्रकको चालकको सिटमा मृत शरीर फेला परेको छ । घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।

दुर्घटनामा बाँच्न सफल ६० वर्षीय एक ट्रक चालकले आफ्नो अगाडिको कारलाई बचाउन खोज्दा ट्रक डिभाइडरमा ठोक्किएको बताए । उनले भने, ‘सडकमा जमेको बरफका कारण स्टेरिङ नियन्त्रण गर्नै गाह्रो भयो । मैले पछाडिबाट चार पटकसम्म विस्फोटको आवाज सुनें  त्यो बेला मलाई लाग्यो कि अब मेरो ज्यान बच्दैन ।’

जापानको मौसम विज्ञान विभागले शुक्रबार साँझ मिनाकामी क्षेत्रमा ८:२० बजेसम्मका लागि भारी हिमपातको चेतावनी जारी गरेको थियो । सो समयमा चालकहरूलाई प्रतिघन्टा ५० किलोमिटरको गतिमा मात्र सवारी चलाउन निर्देशन दिइएको थियो ।

दुर्घटनापछि उक्त सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ । घटनास्थलमा जलेर नष्ट भएका र नराम्ररी क्षतिग्रस्त सवारीसाधनहरूको लाम लागेको छ । 

तपाईको प्रतिक्रिया