Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

टोकियो – कच्चा पदार्थ र श्रम लागतमा भएको निरन्तरको वृद्धिसँगै जापानमा सन् २०२५ भित्र २० हजारभन्दा बढी खाद्य र पेय पदार्थको मूल्य बढेको छ । जापानी अनुसन्धान संस्था ‘तेइकोकु डाटाबैंक लिमिटेड’ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कले जापानी घरपरिवारमाथि महँगीको भार थपिँदै गएको देखाएको छ ।

जापानी मुद्रा येनको अवमूल्यन भइरहेको वर्तमान परिप्रेक्ष्यमा, मूल्यवृद्धि भएका वस्तुहरूको सङ्ख्याले सन् २०२३ यता पहिलो पटक २० हजारको आँकडा पार गरेको हो । तथ्याङ्कअनुसार सन् २०२५ मा २० हजार ६ सय ९ वटा वस्तुको मूल्य बढेको छ । यसअघि सन् २०२३ मा यो सङ्ख्या ३२ हजार ३ सय ९६ पुगेको थियो ।

मूल्यवृद्धिबाट सबैभन्दा बढी मसलाजन्य सामग्री (कन्डिमेन्ट्स) प्रभावित भएका छन् । तथ्याङ्कअनुसार ६ हजार २ सय २१ प्रकारका मसलाजन्य वस्तुको मूल्य बढेको छ । त्यस्तै, कफीको दाना (बिन्स) को मूल्य बढ्दा ४ हजार ९ सय १ प्रकारका पेय पदार्थ महँगो भएका छन् । प्याकेज गरिएका चामललगायत ४ हजार ७ सय ९१ प्रकारका प्रशोधित खाद्यवस्तुको मूल्य पनि उकालो लागेको छ ।

कोको बिन्सको मूल्य अकासिएका कारण पेय पदार्थ र स्न्याक्स (खाजा) वर्गमा सबैभन्दा उच्च अर्थात् १८ प्रतिशतसम्म मूल्यवृद्धि रेकर्ड गरिएको छ । समग्रमा हेर्दा औसत मूल्यवृद्धि दर १५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको १७ प्रतिशतको तुलनामा केही कम हो ।

तेइकोकु डाटाबैंकका अनुसार जनवरीदेखि अप्रिल महिनाका बीचमा ३ हजार ५ सय ९३ वस्तुको मूल्य बढ्ने सूचीमा छन् । यो सङ्ख्या डिसेम्बर २०२४ मा सोही अवधिका लागि प्रक्षेपण गरिएको ६ हजार १ सय २१ को तुलनामा भने कम हो ।

यद्यपि, रसद (लजिस्टिक्स) र श्रमलगायतका सेवा-सम्बन्धित खर्चहरू बढ्दै जाँदा उत्पादकहरूले बढेको लागत उपभोक्तामाथि थोपर्ने प्रवृत्ति बलियो बन्दै गएको छ । तेइकोकुका एक अधिकारीले भने, ‘मूल्यवृद्धिको यो स्थिर चक्र (स्टिकी प्राइस हाइक), जसमा नियमित अन्तरालमा भाउ बढाइन्छ, निरन्तर चलिरहने सम्भावना देखिएको छ ।’

 

तपाईको प्रतिक्रिया