टोकियो – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीले प्रतिनिधि सभा प्रत्यक्ष/समानुपातिक र राष्ट्रिय सभाका लागि १५ जनाको नाम सिफारिस गरेको हो ।
केन्द्रमा पठाएको सिफारिस सूची सार्वजनिक भएसँगै एउटा नामले भने राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ- त्यो नाम हो, दावा शेर्पा । पार्टीले प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि समानुपातिक तर्फबाट पौवादुङमा गाउँपालिका-१, श्यामशिलाका दावा शेर्पाको नाम पनि सिफारिस गरेको छ । विशेषगरी युवा पुस्ता र प्रवासी नेपालीमाझ लोकप्रिय रहेका शेर्पाको नाम ‘सहिद परिवार’ क्लस्टरबाट सिफारिसमा परेसँगै उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ ।
राजनीतिमा होमिएका शेर्पा हाल नेपालमा छैनन् । उनी जापानी भाषाको अध्ययन सकाएर हाल जापानमै कार्यरत छन् । सात समुद्रपारि रहेर पनि आफ्नो माटो, पार्टी र संगठनप्रतिको लगावका कारण पार्टीले उनको योगदानको उच्च कदर गरेको छ ।
प्रवासको व्यस्त जीवनशैलीका बाबजुद पनि नेपाली राजनीतिमा उनको सक्रियता र सहिद परिवारको सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै पार्टीले उनलाई उम्मेदवारका रूपमा अघि सारेको हो । उनको नाम सिफारिस भएलगत्तै सामाजिक सञ्जाल र शुभचिन्तकहरूले जापानमा रहेका शेर्पालाई अग्रिम जितको शुभकामना र बधाई सन्देश पठाइरहेका छन् । शेर्पा तात्कालिन नेकपा माओबादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानका महासचिव हुन् ।
को-को परे सिफारिसमा ?
पार्टीको केन्द्रीय कार्यालयको विशेष सर्कुलर अनुसार भोजपुर जिल्ला इन्चार्ज नगेन्द्र किराँतीको अध्यक्षता र प्रदेश १ का सांसद तथा नेता राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा बसेको बैठकले उम्मेदवारहरूको नाम टुंगो लगाएको हो ।
सिफारिस सूचीको प्रतिनिधिसभा प्रत्यक्षतर्फ अजम्बर राई, दिल कुमार राई, सुदेश पराजुली लगायतको नाम छ भने समानुपातिकतर्फ दावा शेर्पासँगै अजम्बर राई (काङमाङ), इन्द्रावती राई, राजेश खतिवडा लगायतका नेताहरू सिफारिस भएका छन् । राष्ट्रिय सभाका लागि ध्रुव छाङछा, दलबहादुर गिरी र ठण्डबहादुर विकको नाम पठाइएको छ ।









