समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार सञ्चारकर्मीसँगको भेटमा उनले १४औँ महाधिवेशनमा पनि महामन्त्री पदमा प्रतिस्पर्धा गरेको तर सफल नभएको स्मरण गर्दै यसपटक पुनः सोही पदमा उम्मेदवारी दिने औपचारिक जानकारी दिए।
पार्टीभित्र कुन समूहबाट उम्मेदवारी दिने भन्ने प्रश्नमा उनले महामन्त्रीको उम्मेदवार प्रायः सभापतिसहितको समूहबाट हुने परम्परा रहेको बताए। तर अहिले कुनै निश्चित समूह तय नभइसकेको उल्लेख गर्दै देशको वर्तमान अवस्था र जनताको चाहनाअनुसार पार्टीमा नयाँपन ल्याउन सक्ने सक्षम नेतृत्वसहितको समूह बन्ने उनको भनाइ थियो।
नेता पौडेलले १५औँ महाधिवेशन सम्पन्न गरेपछि मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताए। महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी जेनजी आन्दोलनको भावनाअनुसारका नीति तय गर्दै पार्टीलाई सक्रिय बनाएर निर्वाचनमा होमिनुपर्नेमा उनले जोड दिए।
उनले आमनिर्वाचनले देशको वर्तमान राजनीतिक समस्याको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनका लागि सरकारले कडा सुरक्षा व्यवस्था र आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरे।








