समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा वार्ता चलिरहेको छ। वार्ता भइरहँदा वार्तास्थलमा उपस्थित जेनजी अगुवा सुदन गुरुङले दुई नेताबीच सहमति गराउन दबाब दिँदै गेटमा ताला लगाएका छन्। गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको बताएका छन्।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्, “हाम्रा दुई जना नेता भित्र हुनुहुन्छ। जबसम्म उहाँहरू मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले ताला लगाएका छौं।” उनले आफूहरू गेटमै बसेर सुरक्षा गर्ने दाबीसमेत गरेका छन्। उनले चाबी आफूसँगै राखिएको र सहमति नहुँदासम्म यस्तै रहने बताएका छन्।
यसअघि बुधबार भएको वार्तामा सामान्य छलफल मात्र भएको थियो। आजको वार्तामा भने वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने विषयमा ठोस निष्कर्ष निकाल्न दुवै नेतामाथि दबाब परेको बताइएको छ।








