सिड्नी – अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा आइतबार साँझ भएको गोलीकाण्डमा १६ जनाको मृत्यु भएको छ । यहूदी समुदायको पर्व ‘हनुक्का’ मनाइरहेको भीडलाई लक्षित गरी भएको उक्त आक्रमणमा अन्य ४० जना घाइते भएका छन् ।
अष्ट्रेलियाली प्रहरीले यस घटनालाई ‘आतंकवादी हमला’ को संज्ञा दिएको छ । स्थानीय समय अनुसार साँझ ७ बजेभन्दा केही समय अघि भएको उक्त विभत्स घटनामा संलग्न एक संदिग्ध बन्दुकधारीको मृत्यु भएको छ भने अर्का एकजनालाई प्रहरीले नियन्त्रणमा लिई अस्पतालमा उपचार गराइरहेको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिकै फेला परेको एक सवारी साधनमा ‘इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस’ (बिस्फोटक पदार्थ) समेत जडान गरिएको अवस्थामा भेटिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेको फुटेजमा दुई व्यक्तिले नजिकैको पुलबाट तल रहेको भीडमा अन्धाधुन्ध गोली चलाइरहेको दृश्य देखिएको छ ।
अष्ट्रेलियाका एक वरिष्ठ गुप्तचर अधिकारीले आक्रमणकारीमध्ये एकजना यसअघि नै सुरक्षा निकायको निगरानीमा रहेको खुलासा गरेका छन् । बोन्डी बिच ठूलो संख्यामा यहूदी समुदायको बसोबास रहेको क्षेत्र नजिक पर्दछ । आक्रमणको समयमा बिच नजिकै यहूदीहरूको पर्व हनुक्काको विशेष कार्यक्रम भइरहेको थियो ।
प्रधानमन्त्रीद्वारा भर्त्सना
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीिजले यस हिंसालाई विनाशकारी आतंकवादी घटना भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले भने, ‘यो हनुक्काको पहिलो दिन यहूदी अष्ट्रेलियालीहरू माथि गरिएको सुनियोजित आक्रमण हो । यो आस्थाको उत्सव र खुसीको दिन हुनुपर्ने थियो, तर शोकमा परिणत भएको छ ।’
इजरायली विदेश मन्त्रालयले मृतकहरूमध्ये आफ्ना एक नागरिक पनि रहेको पुष्टि गरेको छ । घटना लगत्तै इजरायली विदेश मन्त्री गिदोन सारले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन् । मन्त्री सारले लेखेका छन्, ‘यो विगत दुई वर्षदेखि अष्ट्रेलियाका सडकहरूमा देखिएको यहूदी विरोधी (एन्टी-सेमिटिक) उन्मादको नतिजा हो ।’








