न्यूयोर्क – वासिङ्टन डीसीबाट जापानको टोकियोका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमान इन्जिनमा खराबी आएपछि पुन: सोही विमानस्थलमा फर्काइएको छ । विमानको इन्जिनबाट निस्केको आगो वा तातो हावाका कारण धावनमार्ग नजिकैको झाडीमा आगलागी समेत भएको अधिकारीहरूले जनाएका छन् ।
विमानमा सवार २७५ यात्रु र १५ चालक दलका सदस्यहरू सबै सकुशल रहेका छन् । उडान भरेको केही समयमै दुईमध्ये एक इन्जिनमा ‘पावर लस’ भएपछि चालक दलले इन्धन घटाउन केही बेर आकाशमा फन्को मारेर विमानलाई डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित आपतकालीन अवतरण गराएका थिए ।
एयरलाइन्सका अनुसार, ‘फ्लाइट ८०३’ दिउँसो १२:२० बजे उडेको थियो भने करिब १:३० बजे सुरक्षित रूपमा फर्किएको थियो । विमानस्थलका प्रवक्ताले धावनमार्ग नजिकै सल्केको आगो तत्काल नियन्त्रणमा लिइएको र अन्य उडानहरूमा खासै असर नपरेको जानकारी दिएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । विमान कम्पनीले अलपत्र परेका यात्रुहरूलाई अर्को उडानमार्फत गन्तव्य पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।








