टोकियो – जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बच्चा जन्माउँदा लाग्ने सम्पूर्ण खर्च सरकारी स्वास्थ्य बीमा अन्तर्गत समेट्ने प्रस्ताव अघि सारेको छ । बिहीबार सामाजिक सुरक्षा परिषद्को चिकित्सा बीमा उपसमितिमा पेस गरिएको यो प्रस्ताव पारित भएमा अब जापानमा सुत्केरी हुँदा लाग्ने खर्च नागरिकले आफ्नो गोजीबाट तिर्नुपर्ने छैन ।
प्रस्तावित नयाँ व्यवस्था अनुसार हाल प्रचलनमा रहेको ‘एकमुष्ट सुत्केरी भत्ता’को व्यवस्था खारेज हुनेछ । यसको सट्टामा प्रसूति सेवा बापतको रकम स्वास्थ्य बीमा मार्फत सिधै अस्पताल वा मेडिकल संस्थाहरूलाई भुक्तानी गरिनेछ । यो योजनाको मुख्य उद्देश्य सुत्केरी हुँदा लाग्ने अतिरिक्त खर्चको भार कम गर्नु र जापानका विभिन्न क्षेत्रहरूमा रहेको उपचार खर्चको असमानतालाई अन्त्य गर्नु हो ।
सन् १९९४ मा सुरु गरिएको एकमुष्ट सुत्केरी भत्ता कार्यक्रम अन्तर्गत सुरुमा ३ लाख येन दिइन्थ्यो। बढ्दो महँगीसँगै यसलाई पटक-पटक बढाएर सन् २०२३ मा ५ लाख येन पुर्याइएको थियो । तर, मुद्रास्फीति र अन्य कारणले गर्दा बच्चा जन्माउँदा लाग्ने खर्च त्योभन्दा धेरै माथि पुगेको छ ।
तथ्यांक अनुसार, आर्थिक वर्ष २०२४ मा जापानमा बच्चा जन्माउँदा लाग्ने औसत खर्च ५ लाख १९ हजार ८०५ येन पुगेको छ । अझ क्षेत्रगत रूपमा हेर्दा यसमा ठूलो खाडल देखिन्छ । उदाहरणका लागि, कुमामोटो प्रिफेक्चरमा यो खर्च करिब ४ लाख येन छ भने राजधानी टोकियोमा ६ लाख ५० हजार येनको हाराहारीमा पुग्ने गरेको छ । नयाँ बीमा नीतिले यो असमानतालाई सम्बोधन गर्न ‘एक समान शुल्क’ निर्धारण गर्ने लक्ष्य राखेको छ ।
के-के समेटिँदैन ?
प्रस्तावित व्यवस्थाले सामान्य प्रसूति सेवालाई पूर्ण रूपमा नि:शुल्क बनाए पनि केही विलासी सुविधाहरू भने यसमा पर्ने छैनन् । सुत्केरी भएपछि आमाले लिने ‘ब्युटी ट्रिटमेन्ट’ (सौन्दर्य उपचार) र अस्पतालले उपलब्ध गराउने ‘विशेष खाना’ (Special Meals) को खर्च भने व्यक्ति स्वयंले नै व्यहोर्नुपर्नेछ ।
त्यस्तै, शल्यक्रिया मार्फत बच्चा जन्माउँदा (Cesarean sections) लाग्ने खर्चमा भने हालकै व्यवस्था कायम रहनेछ । हाल शल्यक्रियालाई स्वास्थ्य बीमाले समेट्ने गरेको छ, जसमा बिरामीले कुल खर्चको ३० प्रतिशत मात्र तिर्नुपर्छ ।








