![]()
काठमाडाैँ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउने भएका छन् । उनको आगमनलाई लक्षित गर्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय समयअनुसार विहीबार अपराह्न ४ बजे पुटिन दिल्ली पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नेछन् । पुटिन करिब २८ घण्टा नयाँ दिल्लीमै रहनेछन् ।
सरकारी अधिकारीहरूको भनाइअनुसार पुटिनको औपचारिक स्वागत शुक्रबार गरिनेछ, जसपछि २३औँ भारत–रूस शिखर वार्ता सुरू हुनेछ । मोदीले हैदराबाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने व्यवस्था मिलाएको बताइएको छ । पुटिन शुक्रबार बिहान राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारतमा सञ्चालन हुने च्यानलको शुभारम्भ गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज दिनेछिन् । पुटिन शुक्रबार राति करिब ९:३० बजे भारतबाट प्रस्थान गर्ने तय गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार वार्तामा भारतद्वारा रूसी कच्चा तेल खरिदका कारण बढिरहेको व्यापार घाटा, र अमेरिकी प्रतिबन्धको भारत–रूस तेल व्यापारमा पर्ने प्रभावजस्ता संवेदनशील विषयमा चर्चा हुने सम्भावना छ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले गरिरहेको पहलबारे पुटिनले भारतीय पक्षलाई जानकारी गराउने अपेक्षा पनि गरिएको छ । भारत संवाद र कूटनीतिक बाटोमै समाधान खोजिनुपर्ने धारणा निरन्तर दोहोर्याउँदै आएको छ ।
दुई देशबीच श्रमिक आवागमन सहजता, रक्षा सहकार्य, कृषि, शिक्षा, व्यापार र संस्कृति लगायतका क्षेत्रमा कयौं सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ । भारतले फार्मा, कृषि तथा उपभोक्ता सामग्रीको रूसी बजारमा निर्यात वृद्धि हुने आशा व्यक्त गरेको छ । रूसले हरेक वर्ष भारतलाई ३०–४० लाख टन मल आपूर्ति गर्दै आएको छ र उर्वरक क्षेत्रमा अतिरिक्त सहकार्यबारे पनि छलफल हुने जनाइएको छ ।
मुख्य शिखर बैठकअघि बिहीबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र रूसी रक्षामन्त्री आन्द्रे बेलोसोभबीच एस–४०० मिसाइल प्रणाली, लडाकु विमान उन्नयन तथा अन्य सैन्य सामग्री खरिदबारे केन्द्रित वार्ता हुनेछ ।
भारत र रूसबीच वार्षिक शिखर बैठकको परम्परा अनुसार अहिलेसम्म २२ वटा उच्चस्तरीय बैठक भइसकेका छन् । पुटिन सन् २०२१ मा अन्तिमपटक भारत आएका थिए । गत वर्ष जुलाईमा प्रधानमन्त्री मोदी मस्कोमा शिखर सम्मेलनका लागि गएका थिए । ***








