समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि कार्यकर्ताले गरेको आग्रह’ अनुसार उम्मेदवारी दिएको बताए। पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा घोषणा गर्ने तयारी भए पनि उनले अन्ततः एक्लै विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गरेका हुन्।
पोखरेल पार्टीको प्रारम्भिक कोअर्डिनेसन केन्द्रदेखि नै सक्रिय नेता हुन्। २०३५ सालमा मोरङको डिफु गाउँमा माले गठन हुँदा उनी १२ सदस्यीय केन्द्रीय कमिटीका संस्थापक सदस्य थिए। माले–मार्क्सवादी एकतापछि पनि निरन्तर केन्द्रीय कमिटीमा रहेका पोखरेल २०६५ र २०६९ (नवौं महाधिवेशन) मा महासचिव बने। माओवादी केन्द्रसँग एकतापछि महासचिव न रहने व्यवस्था भए पनि दसौं महाधिवेशनमा उनी वरिष्ठ उपाध्यक्ष बने।
उनी संगठनका कुशल नेता मानिन्छन् र विशेषगरी तराई–मधेसमा आन्दोलन विस्तारमा सक्रिय रहे। २०५६ मा काठमाडौं–३ बाट पहिलोपटक सांसद निर्वाचित भएका पोखरेल २०६४ र २०७० मा पराजित भए पनि २०७४ मा फेरि काठमाडौं–५ बाट विजयी भएका थिए। २०७९ मा भने कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए।
पार्टीभित्र उनी उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट र योगेश भट्टराईसहितको समूहको नेतृत्व गरिरहेका छन्। उनीहरूले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई पनि साथमा ल्याउने प्रयास गरिरहेका छन्।








