समाचार सुन्नुहोस :
काठमाडौँ – जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा आज विवाह पञ्चमी महोत्सवअन्तर्गत राम–जानकीको स्वयम्बर भव्य रूपमा सम्पन्न भएको छ। दिव्य स्वयम्बर दर्शन गर्न रंगभूमि क्षेत्रमा ठूलो भीड लागेको थियो। स्वयम्बरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि पुगे।
जानकी मन्दिर डोलाको नेतृत्व महन्थ रामरोशन दास वैष्णवले गरेका थिए भने राम मन्दिर डोलाको नेतृत्व महन्थ राम गिरीले गरेका थिए। दुवै डोलामा परम्परागत पहिरनमा सुसज्जित साधु–सन्त र हजारौँ भक्तजन सहभागी थिए, जसले वातावरण अझै उल्लासमय बनायो। स्वयम्बरको क्रममा जानकी मन्दिरका डोला, महन्थ, पुजारी र साधुले राम मन्दिरको डोलालाई विशेष पूजा गरे। त्यसपछि परम्पराअनुसार जानकीको डोलाले रामको डोलाको सात पटक परिक्रमा गरियो। स्वयम्बर सम्पन्न भएपछि जनकपुरधामका विभिन्न मन्दिरका झाँकीसहित भव्य शोभायात्रा पनि निकालियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिले माहोल झनै भक्तिमय बनायो।
सीता–राम विवाहको मुख्य कार्यक्रम आज राति जानकी मन्दिर परिसरमा हुने छ। त्यसका लागि आकर्षक मण्डप निर्माण गरिएको मन्दिर प्रशासनले जनाएको छ।








