समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई पेस्तोल झापामा फेला परेका छन्। प्रहरीले सो हतियारसहित तीन जनालाई दमकबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई पेस्तोल र २० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ का ३० वर्षीय पवन हाङसुङ्वा छन्।
मंसिर ८ गते राति संयुक्त प्रहरी टोलीले दमक–८ मा डेरा गरेका सरोज पुरीलाई कोठाबाहिर हिँडिरहेका बेला नियन्त्रणमा लियो। उनका साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउन्ड गोली फेला परेको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमै बुझाइएको थियो। सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बताएका थिए। त्यसपछि प्रहरीले लिङ्देनलाई घरमै गएर पक्राउ गर्यो। लिङ्देनले उक्त पेस्तोल इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकार गरेका छन्।
प्रहरी टोली हाङसुङ्वाको खेतसम्म पुगेपछि खाल्डो भित्र रातो प्लास्टिकको झोलामा लुकाइएका अवस्थामा अर्को टाइप–५४ पेस्तोल र पाँच राउन्ड गोली फेला परेको छ। पवनलाई समेत नियन्त्रणमा लिएर दमक ल्याइएको प्रहरीले जनाएको छ। बरामद दुवै हतियार र गोलीसहित तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौं ल्याइएको छ।








