Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् ।

टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैठौं अधिवेशनबाट आगामी ३ वर्षको कार्यकालका लागि नेपाल सन्देश डट कमका प्रधानसम्पादक श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

जम्मा ८६ जना सदस्य रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिका उपाध्यक्ष र गौतम सचिव हुन् । यसैगरी खुला उपाध्यक्षमा मनिषा चम्लागाईँ निर्वाचित भएकीछिन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चम्लागाईँ ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै अर्का प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकीछिन् भने सचिवमा अर्जुन लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् ।

यसैगरी सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वाश आचार्यले ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिको सहसचिवमा बिष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा र कोषाध्यक्षमा भुलबहादुर राना ‘निशान’ यसैगरी सदस्यहरुमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र विनोद ढकाल सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक खगराज गौतमले निर्वाचनको मत परिणाम घोषणा गरेका थिए । अध्यक्ष शान्तकुमार पहारीको सभापतित्वमा भएको छैठौं अधिवेशन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले भर्च्युअल सम्बोधन गरेकी थिईन् भने महासंघका केन्द्रीय प्रतिनिधि हरि पोखरेल र महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले अधिवेशन सफलताको कामना गरेका थिए ।

अधिवेशन समारोहमा जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, सभाध्यक्ष पहारी, एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । नवगठित कार्यसमितिको शपथ तथा पदभार ग्रहण समारोह भने केन्द्रीय अध्यक्ष शर्माको विशेष उपस्थितिमा आगामी साता हुने बताईएको छ ।

को हुन् अध्यक्षमा निर्वाचित रविन्द्र श्रेष्ठ ?
गोरखा भिमसेन थापा गाउँपालिका-५ मिलनबस्तीका श्रेष्ठ पूर्व जनमुक्ती सेनाका अवकाश प्राप्त व्यक्ति हुन् । अवकाश लिएलगत्तै उनले चटक्कै राजनीति छोडेर पत्रकारितामा लागेको दशकौं भईसक्यो । राजनीति छोडेरै विद्यार्थीकारुपमा जापान आएका श्रेष्ठ अध्ययनसंगै पत्रकारितामा सक्रिय भएका हुन् । तथापि उनीमाथि माओबादीको ट्याग लागिरहेको छ । हाल आफ्नै व्यवसायमा सक्रिय श्रेष्ठ कुनै बेला पत्रकार भएकै कारण र समाचार लेखेकै भरमा पटक पटक कुटिएका थिए । तत्कालिन कथित धनाढ्यहरुद्वारा संरक्षित गुण्डाराजहरुको बिगबिगीको बेला समाजमा विद्यमान विसंगति र विकृतिका विरुद्ध उनी खरो कलम चलाउँथे । त्यसै कारण उनी निशानामा परिरहन्थे । त्यतिबेला उनको पक्षमा पत्रकार महासंघ जापान ढाल बनेर उभिने गर्दथ्यो, र विश्भरिका नेपाली पत्रकारहरुको ध्यानाकर्षण गराउंदैं ज्यादतीका विरुध्द उनीहरुबाट पनि ऐक्यबध्दता जाहेर हुने गर्दथ्यो ।

मिजासिला, आग्रह-पूर्वाग्रह पटक्कै नराख्ने र व्यक्तिगत सम्बन्ध राख्न असाध्यै माहिर स्वभावका कारण श्रेष्ठले यसपालीको महासंघको चुनावमा फरक फरक कित्तामा उभिएका मतदाता पत्रकारहरुको मत आफुतिर खिच्न सफल भएका हुन् । तथापि चुनौतीको चाङमा उभिएर जिम्मेवारी सम्हाल्न लागेका श्रेष्ठलाई आगामी यात्रा भने त्यति सजिलो पटक्कै छैन । सुन्निएर मोटाएझैं संख्यामा मात्र झांगिएको जापानका पत्रकारहरुको जमात सबैलाई मिलाएर लैजान र क्रियाशील पत्रकार र नाम मात्रका पत्रकारहरु खुट्याएर शुद्धिकरण गर्दै महासंघलाई जापानमा एउटा गर्व गर्न लायकको पेशागत हकहितमा केन्द्रीत मर्यादित संस्था बनाएर देखाउनुपर्ने छ । कर्मकाण्डी पूरा गर्ने र एउटा कार्यकाल मात्र गुजारा गर्ने छूट उनलाई हुने छैन । पत्रकार हकहितका लागि देखिनेगरी २, ४ वटा काम गरेर जापानमा महासंघको हाइटलाई अझ उच्च बनाउन श्रेष्ठ नेतृत्वको नवगठित कार्यसमितिलाई शुभकामना ।***

तपाईको प्रतिक्रिया